सानीमा
-सुरेन्द्र कार्की
यति बेला कम्पनिमा पुस माघको सिजन भित्रिएको छ सनिबार आइतबार दुबै दिन काम छैन । यस्तो भएको यो दोस्रो महिनाको पहिलो हप्ता हो । अचानक काम कम भएको यो तिन बर्समा पहिलो पल्ट हो । युट्युबमा हेरीहाल्ने कुनै मुभी या रमाइलो प्रोगाम पनि छैन । यस्तो बेलामा बुक पढ्न पनि मन छैन । म आफ्नै रुममा फेसबुक चलाएर बसेको छु अर्को रुम बाट संगै काम गर्ने भाइ मेरो बेडमा आएर आज बियर खाऔँ भनेर फोर्स गर्दै छ । म केही गर्न नभेटेपछि फेसबुक चलाउदै केही लेखौंकी भनेर सोची रहेको अबस्था हो यो यही बेलामा ऊ बियरको कुरा गर्दै छ । हामी दुबै जना बियर लिन नजिकको पसलमा पुग्यौ दुइ बोतल ल्याउदा हुने ठाउमा चार बोतल ल्यायौँ भोलीको लागी पनि । हाम्रो भोली पनि आजैबाट प्याक भयो । फ्रिजबाट एउटा कुखुरा निकालेर पकायौ स्याउ र गाँजरको सलाद बनायौ चारवटा लेज बियरसंगै ल्याएको छ ।
हामी करिब सातबजे बाटै खान सुरु गर्दै छौ । साथी सुदुर पूर्बको मान्छे हो र ऊ खासै जीवन प्रति सिरियस छैन बरु सधैं रमाइलो सधैं फ्यान्टासी । झण्डै आदा लिटर जाने गिलासको एक गिलास घटघटी पुरै पियो मासु टिपेर क्वाप्प मुखमा हाल्यो । मुलांग्को बानीनै खराब छ मासु टिपेको औँला ल्याप ल्यापी चाट्छ । म कराउदै उता जाउ फोहोरी हात धुएर आउ भन्छु ऊ टिस्युले हात पुस्दै कुरा मोड्छ अरे यार दाइ मलाई एउटा गीत लेखिदीनु पर्यो म त्यो गीतको भिडीयो खेल्छु । कहाँ बाट यो कुरो आयो ? हैन दाइ लु त म एउटा भिडीयो खेल्छु सबै तपाइका साथीहरु यहीं छन । यो कोरियामा हुदा केही त गर्न पर्यो यार दाइ लु त । उस्को फोन आयो फोनमा एकछिन बिजी भयो र बाहीरै चुरोट पनि खाएर आयो सास ह्वास्सै गनायो ।
अँ यार बुडा तिमी के के लेखि रहन्छौ आज म तिमीलाई एउटा लेख्ने खुराक दिन्छु लेख ल । के कुरा ? तिमी बुडा चुरोट तान्दै पिछे कराइ रहन्छौ कोठामा चुरोट खान पनि दिदैनौ तिम्रो यो बानी देखेर मलाइ दाइहरुको याद आउँछ अनि सानीमाको याद आउछ । किन ? दाइहरुले थाहा पाएपछी रामधुलाई हान्थे सानीमा मलाइ बचाउनु हुन्थ्यो । सानीमा हुँदा म ढुक्कले गल्तिहरु गर्न पाउँथे । को सानीमा ? पहिला यो कुरा लेख है त ( उस्ले अर्को गिलास पनि खाइ सकेको छ ) आज सानीमाको बहुत याद आयो यार दाइ । ऊ बोल्न थालेपछी ननस्टप बोल्छ एउटै कुरा कति ठाउँमा चार पटक रिपिट गर्छ ऊ बोल्नु अगाडी म पिसाब गर्न जान्छु ऊ बाहिर गएर ध्वार्र धारो छोड्छ ।
सानिमा मेरी आमाकी सहोदार बहिनी भने हैनन । मेरी आमा ठूलाघरकी कान्छी चार दाजुहरु तलकी एक्ली बहिनी । गाँउघरमा काका बडाउकी छोरी ? अँ हँ हैन , अनि को हुन त सानीमा ?
सम्भबत आमाहरुको भेटनै बिबाह पश्चात भएको हुनु पर्छ । सानामा संगै खाइ खेली हिंडेका दिदी बहिनी, खर्क मेला पर्म संगै गरेका दिदी बहिनी हुनुहुन्न उहाँहरु ।
मामल जाँदा आदी बाटामै आउँछ सानीमाको माइतीघर । मूलबाटो बाट झण्डै पैदल दश मिनेटको सिधै उकालो दुरीमा दुइदुइ तले घरहरु छन । त्यस मध्य कमेरोले पोतेको एउटा घर चै सानीमाको माइतीघर हो । मामल जाँद आमा देखाउनु हुन्छ ऊ त्यही हो सानीमाको माइतीघर । दाजुहरुसंग जाँदा दाजुहरु चिनाउनु हुन्छ ऊ त्यो कमेरो पोतेको घर हो कारीगाउँ मामाको घर यानेकी सानीमाको माइती घर ।
मैले सानैमा एक पटक देखेको हुँ कारीगाउँका मामालाई । मैले दिमागलाई अराएँ मामाको तश्विर खोज्न तर दिमागले मामाको तश्विर फेला पारेन ।
मलाई सानीमाको जन्मघर देखेपछि आमाको प्रौढ शिक्षाको एउटा ठगको कथा दिमागमा तैरिन्छ । एउटा सोझो किसानको गोरुलाई कमेरो धसेर किसानकी घरबेटी मार्फत ठगले पैसा ठगेर लान्छ । त्यो कमेरो पोतेको घर देखेपछि एउटा निर्जीब पात्र दिमागमा सजिब उत्रिन्छ ।
यो भन्दा पहिले सानीमाको याद मेरो मस्तिषकमा यति बाक्लो संग बगेको थिएन । सम्भबत: आमाहरुको भेट बिहे पछाडी भएको हुनु पर्छ । किनकी आमाको बाल्यकाल र बिबाहपूर्बको जीवनगीतमा सानीमाको धुन कहिं सुनिएन ।
सानीमा सानीमा मात्रै नभएर भाउजू पनि हुनुहुन्थ्यो तर सानीमालाई सानीमै र दाइलाई दाइनै भन्थ्यौ ।
दाइ मेरा बुबा भन्दा चार साल जती जेठा । दाइ मेरा बुबालाई काका र तपाइँ भनेर सम्बोधन गर्थे बुबाचै माइला र तँ भनेर बोलाउनु हुन्थ्यो । दाइको नाम थियो तर नाम नागरिकता छोडेर हम्मेसी बाहिर आउदैन थियो । दाई वालाका माइलाले नै चर्चित हुनुहुन्थ्यो । हामी भुराभरी उहाँलाई वालाका माल्दाई भन्थ्यौ र सानीमा वालाकी सानीमा ।
त्यतीबेला त्यो बाल दिमागले सम्बन्ध र सम्बोधनमा पहिले सम्बोधन सिकेको रहेछ । सानो दिमागमा यो कुरा बहुत मडारिन्थ्यो कि मेरो बुबाले आफु भन्दा जेठो मान्छेलाई किन तँ भन्नु हुन्छ र जेठो दाइले किन तपाइँ भन्नु हुन्छ । सानामा बुबासंग खुब डराइन्थ्यो र आमालाई सोद्धा नाताले बुबा ठुलो हो भन्नु हुन्थ्यो तर दिमागमा लागेको छापले यो कुरा बुझ्नै मानेन । पछी बुझ्यो र यो कुरा स्वत: सुल्झियो ।
दाइलाई शुरु देखिनै बाल सुझले अशल भेटेन । जुवा तास खेल्नु पर्ने जाँड रक्सी खाइ रहनु पर्ने शिबजीको बुटी हरदम हरबखत लिइ रहनु पर्ने । गाउमा शिबजीको बुटी प्रिय तिन जना हुनुहुन्थ्यो । उसो त हल्का फुल्का भक्त थुप्रै थिए तर तिन जना चाही नामी । त्यस मध्य वालाका माल्दाई दोस्रो नम्बर ।
मलाई सानोमा माल्दाई सानीमाका लोग्ने हुन जस्तो लाग्दैन थियो । सानीमा बडेमा र कान्छा दाइ ( सानीमाकी सासू र देवर ) संग बस्नु हुन्थ्यो मैले थाहा पाउदा देखिनै । बरु मलाई कान्छा दाइपो सानीमाका लोग्नेमानीस हुन जस्तो लाग्थ्यो तर त्यो मेरो भ्रम पछी टुट्यो ।
मैले जानेको त्यतीबेलाको सत्य लोग्ने स्वास्नी संगै बस्नु हो त्यहा त माल्दाई संगै थिएनन माल्दाई त अर्कै भउजू संग बस्थे । संयोगले उनी पनि सानीमानै पर्न आउने भए पनि हामी भाउजू नै भन्थ्यौ । भउजु र माल्दाई दुबैजनाको दोस्रो बिहे भएको रहेछ । गाउमै खड्कासंग बिहे गरेर आएकी भाउजू पछी माल्दाई संग पोइल हिंडेकी हुन । खड्का गाउँकै सोझो मान्छे उता पटी एक छोरी र दुइ छोरा थिए भाउजूका । ति छोरा उनका हुन भन्ने थाहा पाएको दिन भाउजु साह्रै नराम्री लागेको हो मलाई । र माल्दाई उतिकै नराम्रा लागेका हुन उनले सानीमा छोडेर भाउजु बिहे गरे ।
आखिर माल्दाईले त्यस्तो के देखेर ल्याए भाउजू ? र भाउजू के देखेर आइन दाइ संग । आफ्नो हुँदा छँदाको घर अशल लोग्ने र चिचीला बचेरा छोडेर एक रसरंगी ब्यक्तीसंग किन हाम फालेर आकी होलीन भाउजू यो कुराको वास्तविकता बोध हुने समयमा जब म पुगें तब भाउजूलाईनै गाली गर्न मन लाग्यो । दाजुले पहिलेनै आफ्नो नामको खेतीपाती सबै सकेका हुन त्यसमाथी तिनवटी छोरी हुदा हुदै सानीमा माथी सौता हालेको कति पनि मन परेन मलाई । दाजु मनै परेनन मलाई । त्यस पछी हो सानीमालाई घरै छोडेर दाइले भाउजू संग आफैले मासेको खेतमा कमाइ गरी बस्न थालेका । यि सबै घटनाहरु म जन्मिनु अगाडीनै घटी सकेका थिए ।
त्यस पछि हुनुपर्छ कान्छादाई काठमाण्डु जानु भएको । कान्छादाई त्यही भएको घटनाहरु खासै सम्झनमा छैनन । काठमाण्डु जाने आउनेलाई बडेमा कान्छादाइको बारेमा सोधपुछ गरीरहनु हुन्थ्यो । कान्छा दाइ निकै पछी आउनु भयो गाउँ । कान्छा दाइ आएपछी बडेमाको खुशी आयो संसार आयो । दाइ र दाइकै दामलका अरु हराइ रहेका गाउले पनि काठमाण्डौमा गलैँचा बुनीरहेको पक्का खबर छ महिना हराउनु भएका मेरा बाले लिएर आउनु भएको थियो । बा ले खबर मात्रै हैन प्रमाणनै लिएर आउनु भयो । सबै संग बसेको खाएको घुमेको फोटाहरुले भरिएका दुइटा एलबम थिए बुबा संग । कान्छा दाइको सुकिलो फोटो देखेर बडेमाको अनुहारमा खुशीको घाम झुल्किन्थ्यो । नानी अर्को पल्ट चाही फोटो हैन मान्छेनै लिएर आउनुस है भन्नु हुन्थ्यो बडेमा । पछि कान्छा दाइ आउनु भयो बडेमाको घरमा खुसी आयो ।
सानीमाका जम्मा पाँच छोरी एक छोरा भए । घरको जहान ठूलो खान लाउन उति सहज थिएन । दाइ भाउजू संग झगडा गरेका बेला मात्रै सानीमा तिर आउने र दुइचार दिन पछी भउजू तिरै सर्ने । दाइ भउजूको झगडा बाक्लै हुने । दाइ र सानीमाको बसाइ पाँचै मिनटको फरकमा छ । एउटै कुवाको पानी हो खाने एउटै बारीको अन्न हो खाने । दाइ मन लागेको बेला तल माथी दुइ तिरकै बारी जोत्न सघाउने बाकी समय खाइ खेलीमै बिताउने । दाइको घरमा पुगेको कहिल्यै देखिएन नपुगेको त्यत्रो असन्तुष्टी पनि कहिल्यै देखिएन ।
हाम्रो घर गाँउमा र खेती बेसीमा पनि थियो । हाम्रो गाउ बेसी बसाइ बराबर हुन्थ्यो । हाम्रो बेसी त्यही वालामा पर्थ्यो अर्थात वालाबेसी । वालाबेसीमा जम्मा १२-१५ धुरी घर छन र सिरानकै घर वालाको घर हो । वालाका कान्दाई वालाका माल्दाइ वालाकी बडेमा वालाकी सानीमा । पछी छोरीहरुका नामको अगाडी पनि वाला जोडीनै रहयो जोडिनै रहेको छ ।
सानीमा बिहान रिमरिमे देखीनै मेलामा पुगी सक्नु हुन्थ्यो र साँझ झमक्कै हुदा पनि मेलो छोड्नु हुन्न थियो । बडेमा कराइ रहनु हुन्थ्यो यती साँझ सम्म काम नगर भनेर । सानीमा हत्तपत्त खेतला लगाउनु हुन्न थियो । खेतबारी जोत्ने काममा मात्रै हली लगाउने बाकी सबै काम एक्लैले गर्नु हुन्थ्यो । बडेमा मेलोमा खासै देखिनु हुन्न थियो उहाँ बुहारी नातिनातीनालाई काम अरइपराइ गर्ने र घर भित्रको कामबाटै फुर्सद पाउनु हुन्न थियो । मेलोको काम सबै सानीमा घरको काम सबै बडेमा ।
सानीमाले हाटबजार कहिल्यै गर्नु भएन । बडेमा बिरामी पर्दा पनि उहाले हाटबजार गर्नु भएन बरु साँइली छोरी यि कुरामा धेरै अगाडी थिइ । उस्को नाम तारा, वालाकी तारा उत्पात बाठी । घरमा अन्न पात भन्दा खाने मुख बढ्न थाले पछी वालाकी ताराले बाउलाई घरमा बस्ननै रोक लगाउन थाली । वालाकी तारा एकदमै कडा छुच्ची पनि उस्तै मन नपरेको र मन नलागेको कुरा मनमै नराख्ने । ठुलो सानो जे सुकै होस जो सुकै होस भनि हाल्थी । बडेमा पछी ताराको शासन चल्थ्यो घरमा । पछी पछी त मेलापातको खटनपटन सबै ताराले नै लिइ बडेमा घर भित्रकै काममा सिमीत ।
सानीमा हाम्रो सबै मेलामा आइपुग्नु हुन्थ्यो । उहाँको एउटै मात्र रहर हो मैले थाहा पाएको आमाले बोलाएको मेलामा आउनु । आफ्नो घरको काम हुदा पनि सानिमा हाम्रो मेलामै आउनु हुन्थ्यो । मेरा दाजुहरुलाई जोत्न बोलाएर पनि उहाँचै हाम्रो मेलो आउनु भएको धेरै याद छ मलाइ । पुतली सानीमाकी जेठी छोरी ऊ आमा जतीकै सोझी सिदा । आमा गाइ थिइन छोरी उस्तै गाइ निस्की । सानीमा दाजुलाई काम अह्राएर मेला हिड्नु हुन्थ्यो ।
मेरो आँखाले सानीमाको आंगमा सुकिलो लुगा कहिल्यै देखेन । मेरो आँखाले सानीमाले मिठो मसिनो खाएको कहिल्यै भेटेन । सायदै सानीमाका रहरहरु के थिए कसैलाई थाहा छ,गुनासो के थिए त्यो पनि कसैलाई थाहै भएन । मेरा आँखाले सानीमाको चेहरामा आएर हाँसो अल्झिएको कहिल्यै भेटेन । सानीमा रुएको एक पल्ट देंखे त्यतीबेला साँच्चै नमिठो लागेको हो । जति बेला बटुवाले सुर्ती सल्काएर फालेको काँटीले लागेको जंगलको डढेलो गाउँ बेसी पसेर सबै सिरीखुरी निखारेर लग्यो । सानीमाको घर कटेरो अन्नपात केही बचेन । गाइ बाख्रा भने दिउसै भएकाले बचे अरु केही बाकी रहेन । त्यतीबेलै हो कान्दाई पनि रुएको देखें मैले । मान्छे रुएको साँच्चै कति नराम्रो लाग्ने मलाई नराम्रो लाग्यो । त्यतीबेला कान्दाइको बिहेको कुरा चल्दै थियो त्यो पनि डढेलोले खायो । यो डढेलोमा खुलालका खम्मेमामाको ठूलो योगदान रहयो मामा नभएको भए टारीका दुइ घर नबच्ने कुरा गाँउ भरि छरिएको हो । मामा घाइते भएको कुरा पनि सुनियो ।
घर जलेर नष्ट हुनु सायद जीवनको एक रंग जलेर खरानी हुनु हो । त्यतीबेला वालाको घरमा ठूलो संकट आएको थियो । जसो तसो एउटा अस्थाई घर बन्यो बस्दै गर्नको लागी । घर के भन्नु कटेरो तयार भयो कटेरो तयार भएको दिन सानीमाको चेहेरा पहिलेकै स्थितीमा फर्कियो । साना छोरा छोरी बुढी सासु के खाउँ के लाउँ कहाँ राखौँ कहाँ बसाउँ देवरको पनि हिम्मतनै खोसिदीयो सानीमालाई ठुलो चोट थियो कटेरो बनेको दिन मनलाई केही रहात मिलेको हुनु पर्छ ।
सानीमाकी माइली छोरी पार्बती ऊ मामल बस्थी । मामलबाट घर आइ र घरबाट ठुलेमाको घरबस्न आइ । दुइ बर्ष जती बसी म त्यतीबेला सानै थिएँ हामी संग संगै ओच्छ्यान लाएर सुत्थौ। म पढ्दा पढ्दै ऊ निदाइ सक्थी । ऊ खैनी खाँदी रछे मैले थाहा पाएँ तर नभन भनेर कसम ख्वाइ मैले कसैलाई भनिन । पछी ऊ बाउका घर झरी र गाउकै केटा संग बिहे गरी । त्यस पछी काली आइ हाम्रो घरमा काली सानै थिई । कालीको नाम सिता राखिदीनु भयो । काली र मेरो उमेर उस्तै उस्तै हो । सानीमा मेलामा आउँदा र आमा नहुँदा मलाइ आफ्नो दुध चुसाउनु हुन्थ्यो अरे । कालीले पनि आमाको दुध खाकी छे अरे । सिता बहुत कामकरी केटी हो पढ्न पटक्कै मानीन । स्कूल घिसारेर लाँदा पनि गइन आमाको छोरी पढाउने धोको पुरा भएन ऊ हाम्रो घरको एक प्रमुख सदस्य थिइ । तर हाम्रो घरबाट बिहे हुन सकेन सिता पनि ठुली भए पछी बाउका घर झरी र अन्तै बिहे गरी । सिताले पनि आमाको सपनामा पानी छिटीदी । एउटी छोरीको राम्रो संग बिहे गर्ने आमाको धोको पुरा भएन । आमाबाट कुनै छोरीको जायजन्म भएको थिएन ।
ऊ धाराप्रबाह बगिरहेको छ र यो तेस्रो बोतल चल्दै छ । बनाएको सितन सक्कि सक्यो र लेजको उपस्थिती हुनेवाला छ । ऊ निकै गम्भिर देखिदै छ यति गम्भिर पहिले कहिल्यै थिएन । म फेरी बियर फाल्न गएँ ऊ अगरबात्ती सल्काउन गयो । ऊ भित्र छिर्दै अरे यार दाइ यो भोटेको कम्पनीमा काम सकियो । कामै छैन पैसा कस्तो चाहिएको थियो मलाइ यो महिनाको तलब देउन यार बुडा म अर्को महिना दिइ जान्छु । ऊ आफ्नै धुनमा छ म आफ्नै सुरमा छु ऊ पुन कथामा फर्किन्छ ।
सानीमा मागेर कहिल्यै नखाने जानेर दिनु पर्ने । भोक लाग्छकी लाग्दैन त्यो पनि थाहा नहुने । सानीमाको खानामा प्राय मकैको ढिँडो हुन्थ्यो । थोर बहुत कोदो र गहुँको पनि । बडेमा कान्छादाइ र काखमा हुनेले मात्रै हो मकैको भात खान पाउने नभए सानीमा र ठूली छोरीहरुको खाना सधैं ढिडो र रामभेडाको अचार । घरमा दुहुना भैँसी प्राय भइ रहने । सानीमा मेरा दाजुहरुलाई बहुत माया गर्नु हुन्थ्यो आफ्नै छोरालाई जस्तो दाजुहरु मेला जानु भएको दिन सानीमाको चुल्होबाट मिठो सुगन्ध बाहीर छरिन्थ्यो । मलाई ढिडो सानामा कहिल्यै मन परेन त्यो प्राय गाउँका धेरै घरमा पाक्ने भएर हुनु पर्छ । ढिडो खाने सबै गरिब जस्तो लाग्थ्यो त्यो हाम्रो घरमा पनि पाक्थ्यो तर सधैँ जसो हैन । आमा ढिडोको सौखिन सानीमा आएको दिन त झन पाक्थ्यो पाक्थ्यो सानीमालाई एक गाँस सम्म ढिडो नभए खाना खाएको चित्तै नबुझ्ने । दाजुहरुले ढिँडो माग्दा सानीमा दिनु हुन्न थियो यो दुखीले खाने चिज बो नखाओ तिमरु भात खाओ भन्नु हुन्थ्यो ।
सानीमा सासूलाई बहुत मान्ने। आफ्नै छोरीहरुले पनि त्यती सम्मान गरेनन बडेमालाई । बडेमा उस्तै दुख मान्ने सानीमाको । घर जलेकाबेला दाइले सानीमालाई लान खोज्नु भयो सानीमा सासूलाई छोडेर जानु भएन । पहिला पनि लान खोज्नु भएको हो दाइले तर बडेमाले लान दिनु भएन । बडेमाको मान्नु थियो कि यो सोझी छे कान्छीले काम गराएरै मार्छे । भाउजू बाठी थिइन सौतालाई फकाइ फकाइ काम लगाउथिन । हामी सानामा भाउजू संग खुब बाज्थ्यौ तर गोठालामा उनका घर नगइ चित्तै नबुझ्ने । कहिले कहिँ माल्दाइ रातीको काम दिउँसै भ्याइ रहेका हुन्थे बुडा रंगिलाहुन । ठूलो केटो सारै अशल त्यस्मा त सानीमाको गुणपो देखिन्थे । वाला भरिमै त्यतीको अशल मान्छे कोही निस्किएन । ऊ वालाभरिकै एक मिसाइल हो अशल मान्छेको । बस् उस्ले पढ्न पाएन र अक्षेरी ज्ञानको पखेटा हालेर उड्न पाएन । यदी पढ्न पाएको भए उस्को उडान बेग्लै हुने थियो । माल्दाइ सारै फटाहा मान्छे सदाबहार अभावै अभाव बाचेको मौषममा दुइ गुँडबाट भटाभट दर्जन चल्ला काढिदीए । गाउँमा उनको अभाव कहानी अफ्ठ्याराको ढुंगामाटोले पनि बताइ दिन्थ्यो तर थिए त दाइ बिन्दास । जो अभावको सामना गर्न दुखका दुइ पहाड सानीमा र भाउजू छँदै थिए ।
सानीमा सधैं सौम्य सधैं शान्त सधैं स्निग्ध सधैं अटल सधैं सबल । मोह माया लोभ लालचा द्वेष दुराचारी रिस राग घमण्ड अहंमता कुनै चिज नभएकी सधैं शुन्य सधैं स्थिर । एउटा महान तपस्विमा हुने सबै चिज सानिमामा थिए निबार्ण पछीको बुद्ध झै सधैं शान्त सानीमा । उहाँको गुणले गाउँ बेसी सबै छाएको थियो ।
बजारका पसलबाट निस्कीएर कुनै पनि कपडा कहिल्यै पनि सानीमाको तनमा लपेटीन पुगेन । कहिले कहिं कुनै काग्त्याली परेर कुनै कथाले सानीमाकै डिमाण्ड गर्यो भने सानीमाको आंगमा युग बाँचेको बिहेको सारी भूमिका निर्बाह गर्न आइपुग्थ्यो । सपांग कपडाले कहिल्यै पनि सानीमाको तन चिनेन ।
म त्यो जमनाको कुरा गर्दै छु जुन जमनामा प्रत्यक महिलासंग एउटा एउटा सुर्के थैली हुन्थ्यो । हाटबजार र कतै पूजा पर्ब तिर जाँदा कलरफुल थैलीहरु हुन्थे आमा बडेमाहरुका कम्मरमा र अरु दिन कामकाजी थैलीले पटुकी छाड्दैन थियो । तर सानीमासंग थैली थिएन थैली बिहीन सानीमा । थैली नहुनु भनेको सायद लोभलालचा इर्ष्या मोह नहुनु हो क्यार । यो क्रय बिक्रय संसारको गन्जागोल बेलय नहुनु हो क्यार ।
सायद म त्यती बेला यो गुदी नपलाएको गिदीले यि सबै कुरालाई गरिबीको प्रमाण ठान्थे हुँला तर त्यो मेरो भ्रम थियो । यो लोभलालचाको गन्जागोलबाट बाहिर निस्कीएर बाँच्न कि महाज्ञानीहरु सक्छन कि ऋषीमूनीहरु सक्छन । सानीमा यि दुइटै कोटामा नपरेपछी सानीमा जस्तै कयौं जिन्दगी संसारको मूल्यमान्यता भन्दा बाहिर बाँची रहेका छन ।
सानीमाले निसन्देह चुपचाप चुपचाप दु:खका तारेभिरहरु हिंड्नु भयो बैंशालु सप्तकोशीहरु तर्नु भयो सानीमा दु:खहरूको अन्तिम ठेगना हो जस्तो लाग्छ सानीमा हिलोमा फूलेको त्यो कमल हो जो अभावको आँगनले भरपुर प्रयोग गर्यो । चुपचाप चुपचाप कुनै होहल्ला बिना कुनै आक्षेप निक्षेप बिना कुने रोष दोष बिना सानीमा सिंगै लुम्बिनी बाँच्नु भयो ।
ति दिनहरुमा सानीमा आमा दाजुहरुका हातको पिटाइबाट मलाइ बचाउनु हुन्थ्यो र म सानीमा हुँदा साविक भन्दा ज्यादा चकचके थिएँ । यि दिनहरुमा धेरै धेरै दिन बगेर आए धेरै दिन बगेर गए । सानीमाहरु पनि भेटिदै गए जोडिदै गए तर वालाकी सानीमा जति दिलको नजिक कोही भएन ।
सानीमाको निम्ती सानीमाको आकाशले बाह्रैमास तुषारो झारी रहयो सानीमा सधैं पहाड बनेर तुषारो ओढी रहनु भयो । रहर त सानीमाका पनि थिए होलान थिए होलान इच्छा आकांछा पनि राम्रो लगाउ राम्रो खाउ छोराछोरीलाई राम्रै संग पढाउँ बढाउँ हुने खानेकै जस्तो जिन्दगी बाचुन छोराछेरीले पनि लोग्नेको संधै साथ पाइ रहुँ यो दुखको सागर तरेर सुखको संसारमा रमाउँ भन्ने रहर सबैको हुन्छ सानीमाको पनि थियो होला तर कसैले सुइँको पनि पाएनन इन्द्रेणी रहरहरु थिएकी थिएनन भनेर ।
त्यतीबेला सानीमाको कोखबाट जन्मेका पाँच छोरी पछिको छोरो काखैमा थियो करिब चार बर्षको । अहिले करिब चार बर्ष उस्ले बिहे गरेको भयो । त्यतीबेला चार बर्षको थियो ऊ अहिले करिब चार बर्ष बिदेस गएकै हुन लाग्यो । आमा गाउँबाट सानीमालाई हेर्न जानु भएको थियो तर आमाले सानीमाका अन्तिम शब्दहरु बोकेर आउनु भयो ‘ दिदी छोरो सानै छ यस्ले दुख पाउँछ होला यो तपाइकै जिम्मा है ‘ तर भाइ ताराले लिएर गइ ताराले भाइ छोरो झैं पाली ।
सानीमा यति चाडै जानुहोला भन्ने लागेकै थिएन केही सुखको स्वाद चाखेर मात्रै जानु होला भन्ने लागेको थियो । लाग्न त यो घटनानै घट्ला भन्ने लागेको थिएन तर घट्यो र एउटा दुखको कहानी धुलोमै फूलेर धुलोमै मिल्यो । जन्मनु र मर्नु शास्वत हो यो न टारेर टर्छ न त नकारेर नकार्न मिल्छ । मान्छेले आफ्नो घडी बाँची सकेपछी अरु बाँच्न छुटै छैन यो नियतीको नियम हो यो नियमबाट कोही अछुत छैन बस एउटा प्रयास सम्म गर्न नसक्नुले जो कसैको मृत्यु अलि भयाबह लाग्छ निकै अप्रिय लाग्छ । सायद यस्तो लागीरहनुनै मान्छे भित्र सम्बेदना बाँचीरहनु हो ।
कहिल्यै बिरामी नपर्ने मान्छे सानीमा बिरामी पर्नु भयो तर बिराम लागेको पनि कसैलाई नभनी एक्लै भोगि रहनु भयो । जब काम गर्नै सक्न छोडे पछी हो घरले बिराम थाहापाएको ।थाहा भएर पनि हुने केही थिएन बस थाहा हुनु थियो भयो । जब तिनचार महिना पछी यो लरतरो बिराम नभएको एकिन भयो सानीमालाई बोल्नै गाह्रो हुने अबस्था आयो । रिनपान गरेर माल्दाइको ठाउँमा कान्छादाईले घोपा लिएर जानु भयो । घोपाले घाँटीको अप्रेशन गर्ने सल्लाह दिए पनि अप्रेशन हुन पाएन । अप्रेशन नहुनुमा गरिबी अगाडी उभियो त्यो बेला बिस पच्चिस हजारको जोह गर्न नसकेर निकै कठिन रुपले सानीमाको कहानी सेलायो । सानीमाको प्राण सकियो एउटा दुखको पहाड बिलय भयो एउटा दुखको समुन्द्र सुक्यो ।
ऊ अझै केही बोल्न खोज्दै थियो तर कुराको लय जिकज्याक हुन थाल्यो भोलिको बियर आजै सकियो । दुइजनामा चारबोतल जम्बो चढे पछी दुबैजना शम्भुका भक्त भैयो अब न मैले बोलेको ऊ बुझ्छ न म उस्ले बोलेको बुझ्छु ।
अहिले कोठाको हालत बयान गर्न लायकको छ । जुठा भाँडा वरिपरी छन बियरका खाली बोतल चारै दिसामा छन मुख र हात पुछेको टिस्यु यत्र तत्र छ जुठा भाँडा मुनिको पत्रीकाले पनि रुमको शोभा खल्बल्याएको छ त्यसो त कम्पनिको लुगा खोलेर त्यत्तिकै मिल्काइ रहेका छन जुरफहरु डल्लो परेर बसेकाछन निकै अस्तब्यस्त छ कपडा स्टेण्ड र भित्तामा झुण्डिएको छ शा को गिटार यो गिटार अशोकले ल्याएको हो अशोक अहिले नेपालमा छ । हल्का पिसाब लागे जस्तो भएको छ ऊ त्यही घुरेनको एकछेउमा घुर्न थालि सक्यो मलाइ पिसाब गर्न जान अल्छी लागीरहेछ म पनि त्यही घुरेनको अर्को छेउमा तातो भुइँ माथी पल्टी रहेको छु । अहिले कुनै लाज सरम घिन होस हवास केही छैन ।
२०१८/१/२६
No comments:
Post a Comment