Monday, November 5, 2018

कथा एउटा नमिलेको सपना

 एउटा नमिलेको सपना

सुरेन्द्र कार्की

त्यो दिन तिमी प्रती मेरो किन त्यत्त्रो लगाब मैले बुझ्नै सकिन । तिमीलाई थाहा छैन अँ त्यो त मलाई पनि थाहा छैन यदि तिमी त्यो दिन त्यहाँ आएको भए म के गर्थे भनेर ।

मेरो अन्तस्करणले भनि रहेको थियो तिमी त्यो दिन त्यो समारोहमा आउनु पर्थ्यो ।

हा हा हा हा हा हा हा हा हा, एउटा लामो अट्टाहस !

म पनि बेहोसीको जस्तो कुरा गर्छु । तिमी कसरी आउन सक्थ्यौ त्यो समारोहमा । मैले यो कुराको पटक्कै हेक्का राखिनछु । म त्यो दिन आफ्नो पक्ष भन्दा एक इन्च  पनि हैन हैन एक केस बराबर पनि डगमग नभइ सोची रहेँ। सायद त्यो मेरो भयंकर गल्ती थियो ।

मुख्यत: हामीलाई हाम्रा समस्याहरु मात्रै समस्या हुन जस्तो लाग्छ मानौ हाम्रा समस्याहरुको मानक सगरमाथा हो । म पनि बेवकुफ छु यहाँ हामी कहाँ बाट आयो । सिर्फ म र मेरा ब्यक्तिगत कुराहरु हुन यि । अर्थात मेरा समस्याहरुको मानक सगरमाथा हो । मैले त्यो दिन उस्को पक्ष बाट किन सोचीन यो कुराको बोध मलाइ निकै समय पछी अबगत भयो ।

कुनै न कुनै कुराहरुले हामीलाई छुन पर्छ तब मात्रै मस्तिष्कको तार सहि ठाउमा जोडिन पुग्छ । त्यतिन्जेल कि हामी धेरै पछाडी छुटि सकेका हुन्छौ या हाम्रा समस्याहरु उठाउन नमिल्ने गरि पोखी सकेका हुन्छन । अक्सर कुनै कुरा ठिक समयमा नबुझ्दाको गल्ति साँच्चै महंगो पर्छ । म एक महंगो गल्ति बाँची रहेकी पात्र ।

म यतिबेला मेरो मन भन्दा ठिक बिपक्षमा बाँची रहेकी छु । बाच्नुको के कुरा मलाइ हासीदिउ लाग्छ यहि नेर एउटा लामो अट्टाहस हा हा हा हा हा .....। म आफैँ बाचेकी हैन वास्तवमा बाँच्नै पर्ने केहि कुराले गर्दा म बाँची रहेकी छु । अहो म कस्तो पात्र हुँ आफैँ माथी आफैँलाई दया लागेर आउँछ । म आफु खुशी मर्न पनि नसक्ने एक पात्र । कथाकारले कस्तो निरिह पात्रको भुमिकामा मलाई उतारे अहिले म कथाकार प्रती खेद प्रकट गर्दै छु ।

उ संग कुनै पनि खाले अप्रिय घटनाहरु केही भएनन त्यसैले मलाई उ प्रिय छ । केही अप्रिय अबस्थाहरु सामुन्नेनै नआएका भने हैनन तर घट्ना नघट्नुले म उस्लाई प्रिय ठान्छु । ओ प्रिय मान्छे म तिम्रो प्रेमको गहिराइमा हराइ रहेकी छु अहिले । मैले माथीनै भने नी कुनै गल्तिहरु साँच्चै महंगा हुन्छन जो बाचुन्जेल त्यो कहिल्यै सस्तो हुदैन । उ मेरो महंगो प्रेमी हो जुन बेला मैले उस्को प्रेम स्विकार गर्नै सकिन ।

मैले उसलाई अस्विकार गरिरहे तर उस्ले मलाइ प्रेम गरि रहयो । मैले अस्विकार गर्नु पर्ने केहि कारणहरु थिए त्यो बेला तर अहिले सम्झिन्छु ति कारणहरु नाघ्न सकेकी भए एउटा आनन्दमय जीवनको अभ्यासमा हुन्थे । ति कारणहरु नाघ्दा पनि खासै फरक नपर्ने बोध यति बेला भैदिन्छ । मेरा बिपक्षका ति कारणहरु प्रति म कहिल्यै उद्धार हुन सक्दिन सायद ।
उस्को धेरै लामो प्रयास पछी म साथी सम्म बन्न तयार भएँ तर उस्ले मलाइ प्रेमिका भन्दा कुनै दोस्रो सम्बन्धमा स्विकार गर्नै चाहेन । उ स्पस्ट थियो आफ्नो पक्षमा म अस्पस्ट थिए आफ्नो पक्षमा । वास्तबमा म अझै पनि अस्पस्ट छु मेरो आफ्नै भुमिका प्रति ।

मेरो मन उ पढ्न सक्थ्यो । म दोधारमा अल्झिएको कुरा उ पत्तो पाउथ्यो म के के कारणले उ संग प्रेम गर्न सक्दिन त्यो पनि उ बुझ्थ्यो सायद उ सबै बुझेर नै म संग प्रेम गरि रहेथ्यो । म समझिन्छु त्यो मान्छे किन समय भन्दा पहिल्यै परिपक्व कुरा गर्थ्यो ? उसमा भाबुकता चाहिने भन्दा ज्यादै थियो त्यसैले मलाइ उस्को भावुकता संग डर थियो । कोहि कोही मान्छेहरु साँच्चै सरल हुन्छन तर सरल मात्रै ठानी रहन मन मान्दैन । उ त्यही मन नमान्ने भित्र पर्छ ।

आज मलाइ के भइ रहेको छ किन म उस्लाई सम्झि रहेकी छु । उस्लाई सम्झिनु पर्ने अबस्थात अहिले केही पनि छैन तर किन सम्झि रहेछु म उस्लाई । हुन त एक्लो समय जस्लाई सम्झे पनि केही फरक छैन । फेरी किन उसैलाई चाहीँ नसम्झिउ त म ?

उ दुखको ऐना भोगेर आएको मान्छे । एक कलिलो पहाडी ठिटो साँच्चै कति स्वच्छ कति निर्मल । उ यो कलेज र सहरको लागी पटक्कै सुहाउदिलो मान्छे छदैं थिएन । यो राजधानी राजधानी भन्नु मात्रै हो यहाँको हावा पानी ढुंगा माटो खोला नाला सडक सहर सबै प्रदुषित छन यिनै चिज उपभोग गर्ने मान्छेहरु झनै प्रदुषीत छन झनै खतरनाक छन उ यो सहरको लागी सुहाउदिलो मान्छे थिएन । तर उ यो सहरको गन्धमा मिसीदै थियो । मिसिन जान्नु कला हो कला नै त हो एउटा सुन्दर जीवन उ जीवन बाँच्ने प्राणी हो म बाँच्नकै लागी बाँची रहेकी ।

भित्ताको घडीमा आखा पुग्यो १२ बज्नै लागेछ । उस्को याद मात्रैले पनि मन संगीतमय छ । म छोरा छोरीको लागी पुरीतरकारी टिफीन बनाएर नजिकैको स्कूल लैजान्छु । छोरी अहिले तेह्र लागी उ आठमा पढ्छे छोरो पाँचमा हिडँदै छ उ एकमा पढ्छ । दुबैजना ज्ञानी छन जसो गरो उसै ठिक छ उनिहरुलाई ।

म कोठा फर्किए,  स्कुल सकिए पछी दिदी भाइ संगै आउछन । केटाकेटीका बा डिपार्टमेन्ट स्टोरका मेनेजर । उनको जीवनको घडी बिहान सात बाट बेलुका दस सम्म घरमा हुदैन । मलाई बाहिर फेर काम गर्ने अनुमती छैन म चुपचाप चुपचाप घर भित्रै सिमित छु । छोरी जन्मिएदेखी नै सासूसंग पनि त्यती राम्रो ट्युनिंग छैन । तर छोरी जन्मनु पहिले परिवारमा सुगन्धै नभए पनि यति बिघ्न दुर्गन्ध थिएन ।

ओहो उस्को याद आज कति बिघ्न हावी । म फेरी जीवनको कारागार भित्रबाट उ संगका ति मनोरम दिनहरुको आकाशमा छलाङ  मार्न थाल्छु । त्यसो त यो पहिलो पटक हैन म उस्का यादहरुमा रमाउन थालेको । छ न त उ मेरो सम्पर्कको घेरा भित्रै छ तर उस्लाई म कुनै पनि कुरा भन्न सक्दिन या भन्न चाहदिन । भनेर पनि कुनै फाइदा देख्दिन म । अहिले हामी समयको बिपरित धुर्वमा जो छौ ।

पहिले खिर खाएर पछाडी निस्तो भात खानु साँच्चै त्यो एउटा नमिठो अभ्यास हो । म यो एक अर्कालाई तुलनात्मक रुपमा नहेरौँ भन्छु तर समय आफैं तराजुमा नापिन आइ पुग्छ ।

हामी दुवैजना टुडिखेलमा बसेर बदाम खादै गफिदै थियौं । त्यो दिन खै किन हो मलाइ उ संग भेट्न मन भयो र मैले उस्को घरबेटीको फोनमा फोन गरेर टुँडिखेल बोलाए । त्यो बेला अहिलेको जस्तो हातहातमा मोबाइल थिएन साइबर क्याफेहरु थिएनन यो स्मार्टनेस जमना थिएन हामी संग कुनै डिजीटल आइडीहरु थिएनन त्यो बेला साँच्चै शङ्लो वातवरण थियो शङ्लो प्रेम हुन्थ्यो उस्ले शङ्लो पानामा आफ्नो शङ्लो मन राखेर प्रेम पत्र लेख्थ्यो त्यो आफ्नै हातले लेख्ने प्रेम पत्रको जमना थियो  ति पत्रहरुमा ति अर्ग्यानिक अक्षरहरुमा बेग्लै मादकता थियो । तर मैले उस्को प्रेम कहिल्यै स्विकारिन उस्ले लेखेका ति कयौं प्रेम पत्रहरु अझै सुरक्षित छन म संग । म  यिनै अक्षरहरुमा उस्को मन भेट्छु र जो प्रेमले जतन गर्छु । उस्मा के छ के छ ! उस्को प्रेम ममा अझै जतन छ ।
 त्यो पुसक दिनमा हामी जस्तै जोडीका अनेकन झुण्ड थिए टुडिखेलमा । हामी नजिकै एउटा परिवार जहाँ सानो बच्चा सारै खेलाउ खेलाउ लाग्ने । हामी बिचमा एउटा मौनता थियो । छ नत अहिले जीन्दगीनै मौन छ । तर त्यो मौनता र यो मौनताको अन्तर आकाश झैं बिशाल छ । हाम्रा आँखाहरु बात मार्थे हाम्रा मनहरु बात गर्थे तर हामी चुपचाप रहन्थ्यौ तर त्यो चुपचाप मौनता स्वर्गिय पल थियो ।

मैले उस्लाई सोधें - हेर कति राम्रो बच्चा, तिमीलाई छोरा या छोरी के मन पर्छ भन त ?
उ - तिमी म संग प्रेम चै नगर्ने फेरी भेट्न पनि मन लाग्ने र यो मन पर्ने नपर्ने कुरा आयो कहाँ बाट कतै प्रेमनै नस्वकारी बिहे नै गर्ने मन त हैन तिम्रो ?
मैले भने जे पायो त्यही भनन जे सोधेको त्यो चाहीँ ।
उ- मलाई सबै बच्चा उतिकै मन पर्छ खासमा मलाइ बच्चा मन पर्छ छोरा या छोरी हैन ।
म - सिधा सिधा कुरा गर न जे सेधेको त्यो चाहीँ म अलि प्यारको स्वर तन्काएर लाडे पारामा भन्छु ।
उ मलाइ हेरी रहन्छ र भन्छ तिमी जस्तै तिम्रो फोटोकपी मन पर्छ मलाई
मलाई उस्को यो कुरा मन पर्छ तर पुरानै अवस्थामा उस्लाई भन्छु हाम्रो मिलन असम्भव छ तर किन छोरी नै मन पर्छ भन त ?
यस्को बारेमा धेरै लामो बहस हुन सक्छ तर म छोटै मा भन्छु
म - आज मलाई कुनै हतार छैन यो दिन तिम्रै नाम हो

-आहा यो दिन झै त्यो मन र तन पनि मेरै नाम गरिदीए तिम्रो के जान्छ ? फेरी उस्को कुराले मलाइ छोयो फेरी तन नभनेर पहिले मन भन्यो साँच्चै यो मान्छे मलाइ प्रेम गर्छ । समाजले माथ्लो दर्जामा राखेको आफ्नै जात देखी मलाइ खुब पछुतो लागी रहेछ जो पन्छाएर म उस्लाई अगांल्न सक्दिन । उ छेत्रीकै छोरो भए पनि मान्छे जातपात बिरोधी हो । उ सारा जगतमै दुइ जातीका मान्छे मात्रै देख्थ्यो देख्न त म पनि त्यही देख्थें तर हाम्रो समाजको संरचना, सामाजिक परिस्थिती र त्यो पनि महिला पात्रले एक मध्यम स्तरको घरपरिवार बाट क्रान्तिकारी कदम चाल्न निकै ठूलो सहास गर्नु पर्थ्यो त्यो हिम्मत उस्ले दिए पनि म आफैं भित्र थिएन । अरु बाट हम्मेसी हिम्मत निकै कमैले पाउँछन तर मैले त्यो सदुपयोग गर्न सकिन ।

छोरी मान्छे मेरो बिचारमा संसारकै सबै भन्दा सुन्दर आर्ट हो प्रकृतीको । छोरी मान्छे स्वभावैले नरम सहनशिल लजालु हुन्छन । छोरी मान्छेको भुमिका र जीवन शैलीनै समय अनुसार भिन्दा भिन्दा मोडहरुमा परिवर्तन भएर जान्छ । यदि संस्कार राम्रो छ भने छोरीहुनु भनेको राम्रो संस्कारको बिकास पनि हो जो माइति घर परिवार र समाजतिर उन्मूख हस्तान्तरण र स्थान्तरण हुदै जान्छ । छोरी शुभ लक्षण हो छोरी ज्ञान हुन छोरी धन हुन छोरी सम्बन्धहरुको सुरुवात पनि हुन बिस्तार पनि हुन उ अझै लामो बेल्दै थियो म आजलाई यति सम्झिन्छु ।

यता म बिगत १३ बर्षदेखी छोरी जन्मिएकै कारण परिवार द्वारा निकृष्ट र तिरष्कृत वातवरणको सामना गरिरेकी छु । आमा छोराद्वारा म माथी भइ रहने हातपात र दुरब्यबहारले छोरी निकै त्रसित छे उ आमा र बाबालाई मन पराउदिन । छोरो जन्मनु पुर्बमात्रै मैले तिनचोटी छोरी भ्रुणको हत्या गरें एक आमाको मन कति रुयो होला कति तड्पियो होला त्यस्को हिसाब किताब यि शब्दहरुमा कहाँ यि सम्झनाहरुमा कहाँ ।
म तिन स्त्री भ्रुणको हत्यरा हुँ छोराको बा तिन स्त्री भ्रुणको हत्यरा हुन छोराकी हजुरआमा तिन स्त्री भ्रुणको हत्यरा हुन  म अहिले हत्यरा परिवारमा छु जो छोरीलाई सन्तानको रुपमा स्विकार गर्न सक्दैनन म यो संस्कार हिन परिवारमा संस्कार बिहीन भएर बसेकी छु ।

यो डर भन्ने कुरो पनि कति कति के के चिजमा भइ रहने । एउटा आवाज उठाएर बोल्न नसक्नु आफुले चाहेको जीवन शैली प्रयोग गर्न नसक्नु ठाउँ ठाँउमा अड्चन र सिमंकन के सारो निर्माण भएका हुन छोरीमान्छेका निम्ती सम्झिदै जाँदा आजभोली मन उग्रबादी भएझैँ लाग्छ आफैंलाई ।

छोरी ठुली हुदै छ उस्का बा प्रती उस्लाई नकरात्मक छाप परेको छ । आफ्नै बा प्रती नकरात्मक छाप पर्नु कस्तो दयनिय अबस्था छ यहाँ । त्यस माथी यो घरको चौघेरा भित्र मात्रै हैन पुरै समाजमा महिला हिंसा फस्टाइरहेको कुरा प्रसारित भइ रहेको छ समाचारमा सामाजिक संजालहरुमा ।
यता छोरी ठुली हुदै छे, मलाई भने छोरी हिंड्ने गल्लि र बाटोहरुसंग डर लाग्न थालेको छ, छोरी पुग्ने गन्तव्यहरु संग डर लाग्न थालेको छ, उस्का नजिक हुने चिरपरिचीत पुरूष प्रबृतीहरु संग डर लाग्न थालेको छ आफ्नै बाबुद्वारा ....भन्ने समाचार सुन्दा र पढ्दा त झन मलाई घर भित्रै पनि नानाथरी शंकाहरु डरको रुपमा मडारिरहेझैं लाग्छ  ।

ओहो ! म पनि के सोची रहेकी छु म त त्यो प्रिय मान्छेलाई पो सम्झि रहेको थिएँ । हुन त नराम्रा काम र कुराहरुले नै बिगतका राम्रा काम र कुराहरुको याद दिलाउछ क्यारे । ओ प्रिय मान्छे भन तिमी  किन मेरो मनको सुन्दर स्थानमा बास गरेका छौ जो अफ्ठ्यारा मोडहरुमा पनि तिमीलाई सम्झिदा जीवनका रिदमहरु मिले झै लाग्छन ।

अहिले उ संग सम्पर्क नभएको निकै लामो समय भयो । म सम्झि रहेछु उ खै के गरि रहेछ । उ सामाजिक संजालमा पनि सक्रिय छ लाग्छ सामाजिक संजालमा पनि उस्ले आफ्नो एउटा दायरा तयार पारेको छ । म उस्लाई उस्कै डिजीटल गाँउहरुमा पढ्छु देख्छु र उस्का तश्विरहरु भेला गरेर हेर्छु मन निकै आनन्दित हुन्छ अशान्त हुन्छ । दुख्छ पोल्छ रम्छ रमाउछ मन जे पनि भैदिन्छ जे पनि गर्दिन्छ म मनकै पछी लागिदीन्छु ।

समयले मलाइ फरक मोडमा उभ्यायो । यो मोडसंग पनि मेरो कुनै गुनासो छैन यि सबै मैले सिर्जेका मोडहरु हुन मैले नै भोग्नु पर्छ । यि सबै कर्मका बन्धन हुन र जे जे आउछन ति सहर्ष स्विकार्नै पर्छ त्यो भन्दा अर्को बिकल्प नै छैन । तर त्यो बेला उस्को हातमा हात मिलाएर एक कदम चालेको भए म कर्मका रेखाहरुमा नाची रहेकी हुन्थे यसरी बाँधि रहेकी हैन ।

जब तेस्रो पल्ट पनि भ्रुण चेक गरिएर डिस्पोज गरियो म एक हिसाबले मरे तुल्य भएको थिएँ । त्यो बेला कसरी कल्पना शक्ती म भित्र प्रवेश गर्यो पत्तै पाइन । म भ्रुण भएर हेरे पटक पटक मरेर हेरे मलाइ बाच्नु देखी घिन लाग्यो तर मर्न पनि कहाँ सकिन्छ र ? म आफु खुशी मर्न पनि नसक्ने त्यो चरित्र हुँ कथाकारको । मैले नचाहेर पनि ति तिन टुसा पलाउदै गरेका कोपिलाको इहलिला मेटिदीए । म, मैले नजन्माएका छोरीहरुको हत्यारा हुँ उनिहरुका बाउ उनिहरुकी आमै र यो देशको कानून पनि मेरा छोरीहरुको हत्यारा हो । म यो हत्यारा कानूनमा टेकेर बाँची रहेकी छु । कानूनले दिनदिनै छोरीहरु मारी रहेछ कहिले भ्रुणमै त कहिले विभत्स बल्तकार द्वारा ।

अहिले फेरी नयाँ मुलुकी ऐन कार्यन्वयनमा आएको छ । एउटा लामो अट्टाहास छेडिदीउ लाग्छ हा हा हा हा हा गरेर । अहिलेको नयाँ कानूनलाई आधार मान्ने हो भने त हिजो बेलुका मात्रै हैन बिगत १५ बर्ष देखी म बलात्कृत भएको क्षतिपुर्ती के यो कानूनले दिन्छ ? सरकार एकातिर कानून बनाएर जनता झुक्याउछ अर्को तिर बलात्कार गरेर कर्फ्यू लगाउछ । यहा कस्तो जात्राको मन्चन भइ रहेछ छोरीहरु माथी ।
ए प्रिय मान्छे थाहा छ तिमीले त्यो गर्दैनौ तै पनि मेरो भ्रम तिमीलेचै नतोड्नु - आफ्नी संगिनीलाई बजारको गुडिया मात्रै नसम्झिनु जुन बेला चाह्यो त्यही बेला जता चलाए पनि हुने जता पल्टाए पनि हुने ।

आज भोली छोरीहरुलाई कतै सुरक्षित देख्दिन म । ए प्रिय प्राणी यदि तिमी संग त्यो बेला एउटा गल्ति गरेकी भए तिम्रा कविता झै मेरा छोरीहरु पनि सुरक्षित हुन्थे होलान एउटा रंगिन धुन हामी बिच गुन्जी रहन्थ्यो होला यो बढ्दै गरेकी छोरीले पनि उस्को भाइले झैं  आफ्नो पिताबाट सुन्दर प्रेम र स्नह पाउथी होली ।


जब भ्रुणहरु म आफैं भएर सोचें मेरो आफनै चेतनाको दुखाइ म बताउनै सक्दिन हो त्यही बेला कल्पना शक्ती तिमी तिर पनि सोझ्याएर हेरें तब तिमी त्यो दिन किन आएनौ मैले मेरा सबै प्रश्नको उत्तर एकै साथ पाएँ । अहिले आफ्नै बिहेका फोटाहरु हेर्छु यि फोटाहरुले पनि तिमीलाई नै हेरे जस्तो लाग्छ । बरु म आफैँसंग एउटा प्रश्न उब्जिन्छ मैले के सोचेर आफ्नै प्रेमीलाई मेरो बिहेमा निम्तो गरेँ ?

२०१८/८/२८

No comments:

Post a Comment