Wednesday, July 31, 2019

तरंग

तरंग

सुरेन्द्र कार्की

....... .......
ऊ मेरो लोग्ने हैन
ऊ मेरो सन्तान हैन
उ मेरो ईश्वर हैन
ऊ मेरो कोही हैन
तर पनि उस्लाई सम्झिए पछि सम्झिन बाँकी केही रहदैन
सायद उहि हो मेरो रित्तो पन
सायद उहि हो मेरो शुन्यता
सायद उहि हो मेरो भ्रम
सायद उहि हो मेरो सबथोक

ऊ अरु केही हैन कोही हैन
उ मेरो फगत प्रेमी हो
आत्मा हो
मन हो ।

नेपाल हाउसको सभाहलमा उपस्थित दर्शक दिर्गबाट गड्गडाहट तालीको फोहोरा छुट्यो ।

कवि बाग्मतीका वाचाल आँखाहरुले भिंडलाई वारपार छिचोल्यो । केही दर्शक दिर्घबाट निस्केको वान्स मोर वान्स मोरको ध्वनी तरंग सभाहलको कैदी हावामा घोलीयो ।

म वर्तमान नेपाली कविताको फाँटमा कवि बग्मतीको नाम बाट पुरै कोल्टे रहेछु । ड्यासबाट सिधा नजर मलाई छुन आइ पुग्दैनन म सभाहलको अदृष्य कुनामा छु । मलाई तन्काएर मेरा नजरले उनि सम्म पुर्याए । मैले एक नजरमा चिनें उनको अशली नाम बाह्र बर्ष पहिले बाग्मती थिएन ।

केही बेरमा मेरो नाम उद्घोष भयो । ऊ संग कविता छैन मैले भनें छिनमै भिंडले यो बोली टिपेर ड्यासमा लगिदीयो । गल्तीले उपस्थिति लिस्टमा नाम टिपाउनु पर्ने कवाता बाचकको लिस्टमा नाम चढेछ । त्यो भिंडमा मेरो मुहारको उपस्थिती बिलकूल नौलो र अपरिचित थियो ।
कोरियामा नाम चलेको साहित्यिक संस्थाबाट कार्यक्रम आयोजना गरिएको भए पनि माया प्रेम कुन्ठा आवेस र प्रवासीका रेडिमेड दुख सिवाय उल्लेख्य कविताहरु नगन्य मात्रामा सुनिए । प्रवासमा कविहरुको बौद्धिक चेत निकै खुम्चिएको पाइयो । मजदुरीबाट बचेको थोरै समयमा ज्ञानको आकाशमा फैलिन नसकिएको गुनासोहरु पनि कविताका रुपमा बगेका भावनाहरुमा छरपस्टै देखिन्थे ।

मेरा कोही साथिहरु थिएनन, हत्तपत्त साथीहरु बनाई हाल्ने मेरो आदत छैन यो नै मेरो सबैभन्दा घातक रोग हो । एक्लै एक्लै हिंडीदिन्छु जता जता मन लाग्छ । म जम्मै भिंडहरुको अपरिचीत अनुहार हूँ । राजधानी सौल सहरले नबागन्तुक मेरा पाइला बोकेर उभिएको छ ।

नेपाल हाउसको कार्यक्रम छिचोलेर आफुलाई तोङ्देमुनको खुल्ला सडकमा छोड्दीन्छु । नेपाली भाषी साथीहरुको कब्जामा छ यो सहर । जता छोडे पनि नजर नेपाली अनुहारमा टाँसी हाल्छ । सिटीबस कुर्ने ठाउँको एउटा बेन्चले मेरो भार बोकेको छ । नेपाली मजदुरहरुको उनमुक्त पुस्ता उनमुक्त छ भिंडहरुमा । गल्लि गल्लिमा बिभिन्न आयोजकहरु कार्यक्रमको बिज्ञापनमा तल्लिन छन । कतै डान्स पार्टी कतै नाइट क्लब कतै एकल साँझ कतै जिल्लाबासीहरको छलफल कतै बिभिन्न जातीहरुको जातिय सम्मेलन कतै रेमिटहरुको ग्राहक लोभ्याउने अफरहरु । सबै आ आफ्नै ध्याउन्नमा तल्लिन भएर भिंडको शोभा बढाइ रहेछन । यो सब दृष्यबाट बेन्चको मेरो मानब आकृति गदगद छ ।

 लुम्बिनी रेस्टुरेन्टले खोलेको मौसमी च्याँखे खाजा घरमा मलाई बोकेर मेरा खुट्टाहरु पुग्छन । कुनामा दुइजना मात्रै बस्न मिल्ने एउटा टेबलले मलाई नकुरे पनि एउटा कुर्सीमा आफुलाई बिसाएँ । त्यो अभागी कुर्सीमा यदि अात्मा हुँदो हो त त्यस्को हाय मलाई लागी सक्ने थियो । खाली टेबलमा मेरा तामसी स्वादहरुको तामसी परिकारहरुले स्थान जमाउन थाले । दुइवटा टेबलको हल्लाले १६/२४ को त्यो हल गुन्जयमान छ । ठिक मेरो अपोजिट टेबलमा दिउसो कार्यक्रमको एक टुक्रो भिंड उच्छिट्टिएरआइ पुग्यो । दुइटा टेबल जोडेर १२ जनाले टेबल घेरे । उनिहरुको घेरा बन्दीमा साहुको आत्मा बुरुक्क उफ्रेर आइ पुग्यो अगि सम्म उजाड टेबलमा बसन्त मग्मगायो ।

टेबलमा चियर्सको झंकार गुन्जिनु अघि गजल कविताको फोहोरा छुट्यो । सबैको आग्रहमा बाग्मतीको पुर्बवाचित कविता फेरी नबिकरण भयो दारु अखडामा । मलाई उति प्रिय लाग्दैन कवितालाई दारुसंग घोलेको तर मलाई लाग्नु र नलाग्नुले त्यहाँ कुनै अर्थ राख्दैन । चुपचाप मैले पनि मेरा मौन तपस्यामा लिन  एक जोडी कानहरुलाई अगडीको टेबलमा लगेर चर्न  छोडिदीएँ ।

लोडगरेको तामसी रस अनलोड गर्न सानो अँध्यारो छिंडीको बाटो हुदै पछाडीपटीको ट्वाइलेट गएर फर्किदै गर्दा त्यही अँध्यारो गल्लीमा हामी छोइन पुग्यौ । त्यो एक जना मात्रै हिंड्न मिल्ने गल्ली थियो । अँध्यारो गल्लीमा मैले छोइन पुगेकोमा माफी मागें । इट्स ओके भन्दै उनि एक कदम अगाडी बढिन् र भनिन सुन्नुस त म तपाईको आवाज संग परिचीत छु झैं लाग्यो । एकछिन बाहिर कुर्नुस ल म आइ हाल्छु ।
उनि आए पछी हल भरि पोखिए उनका आखाँ । आफु बसेकै कुर्सी पछाडी मलाई भेटेर उनका नजरले ढुक्कको अनुभूती गरे । साथीहरु म एक्छिन उहाँको टेबलमा ज्वाइन हुन्छु डन्ट माइन्ड है । उनका साहित्यिक साथीहरुका नजरमा इर्ष्याको राग प्रस्टै उडेको देखिन्थ्यो । अगाडीको त्यो अभागी कुर्सीले पुन्य प्राप्त गर्यो ।

कवि बाग्मतीको मुहारमा अचानक सूर्यनै आएर टाँसिए जस्तो चमक आयो ।
तपाँइले मलाई चिन्नु भएन ?
मेरो मौनता उस्तै लम्बि रहयो ।
अर्को प्रश्न फेरी तपाई पशुपती नै हो नी ।
मैले हो को जवाफमा टाउको हल्लाएँ ।
त्यही पशुपति हो त ?
कुन त्यही ?
जो हामी एकै बेन्चमा बसेर पढ्थिम ।
हल्का हाँस्दै मैले भने तपाईलाई भ्रम भयो होला कुनै बाग्मती संग संगै बसेर पढेको मलाई त सम्झना छैन ।
उनको सूर्यमा एकचोक्टा बादल मडारियो । मलाई चिन्नु भएन ।
चिन्नु गौण कुरा हो र सुन्नु या देख्नु मुल कुरा । मैले बाग्मतीलाई आजै सुनेको हूँ र उनका कविता पनि आजै सुनेको हूँ ।
नाममा नजानुन मान्छेमा जानुस ।
मैले भने अब ति पुराना कुराहरु/ दिनहरु तिर फर्किएर बिना अर्थ आफ्नो उज्यालो नष्ट गर्नु बेवकुफी सिबाय अरु केही नहोला ।
भने पछी चिन्नु भयो तपाईले ।
मैले भने कोही पात्रहरु भूल्नको लागी बनेकै हुदैनन ।
उनको चेहराब पून एक चोक्टो बादल बिलायो तर आँखाहरुमा अनयासै बाग्मती रसायो ।
कविता कतिको मन पर्छ कतिको पढ्नु हुन्छ ?
साह्रै धेरै हैन
एउटा कविता सुन्नु हुन्छ ?
मेरा कानहरु तयारै छन ।
केही सोचे झैं गरेर अन्तिमका केही अँश मात्रै ल तर यो कविता मेरो हैन है हुन चाही यो कविता आज मेरो जीवनमा अतिनै सार्थक भयो -


..........
बाटो साँघुरो भएरै
हजुरलाई छुन पाइयो
यस्सो पन्छिएर …. हजुरको यात्रालाई
बाटो दिन पाइयो !
बाटो साँघुरो भएरै हजुरसँग एक क्षण
सँगै उभिन पाइयो
हजुरलाई भेट्ने कत्रो रहर मेरो
पूरा गर्न पाइयो ।

जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन
जीवनमा खुला मैदान मात्रै
खुसीको परिभाषा होइन !
जस्तो कि पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो ……
अनेक फराक संसारमा जो
कहिल्यै सम्भव भएन !


मैले कवितामाथी बोल्नु अगावै अघिल्लो टेबलले कान हाम्रो चियो चर्चोमा खटाएको प्रष्टै भयो । एकै स्वरमा देउसुरे लयामा आहा सारै राम्रो भन्दै एक लय देउसी भट्याए एक घान ताली पड्काए । उनले बोल्नु अगावै उतैबाट आवाज आयो यस्तो खतरा कविता चै लुकाएर राख्ने तपाई ? भिंडले बाग्मतीलाई यो म द्वारा लेखिएको कविता हैन भन्ने अबसरनै दिएन ।  एकोहोरो तारिफको बेलुनमा हावा भरि सके पछि एक नव कविको आवाज प्रश्नको रुपमा आयौ उहाँ चै कोहो हामीलाई चिनाउनु हुन्न ? उनले निर्धक्क साथ जवाफमा अघि सुरुकै कविता उठाउदै त्यही कविताको आत्मा हो भनिन भिंडको आवाजमा एक डोज ब्रेक लाग्यो ।

कविता कस्तो लाग्यो ?
उत्कृष्ट । तर मैले ल्याम्पोस्टबाट खसेको जून का पुरै कविता पढेको छु ।
मनु मन्जिल दाइले यो कविता आजैको दिनको लागी मेरै निम्ति लेखिदीनु भए झैं लागेको छ । उनले अग्रज दाई कविलाई मनैबाट नमन गरिन ।
भने पछि कविता प्रति रुची छ तपाईको ?
त्यस्तो धेरै हैन । तर बजारले फिल्टर गरेका केही किताबहरु पढ्न मन लाग्छ । यस्तै समय मिले सुन्न पनि निस्कीन्छु कहिले कहिं ।

बियर लिनु हुन्छ ?
आज सम्म लिएको छैन तर आज तपाईले बिषै दिए पनि म नाई भन्दिन । लाग्छ मेरो छायाँले उनि पुरै लठिएकी छिन । मैले एक गिलास बियर सारें र उनि तिर बढाएँ । सुरुप्प पारिन र मुख बिगारीन कस्तो तितो ।
यस्को मिठासनै यहि हो ।
तपाई कहाँ बस्नु भएको छ
म यो सहररो नयाँ टुरिस्ट हूँ । अर्थात नयाँ ग्रहाक ।
रुम लिनु भएको छैन ?
छैन । सुनेको छु यो सहर रातभरी जिउदै हुन्छ । म पनि यतै मिसिने छु ।
तपाई एक्लै ?
हैन आज यो सहर पुरै मेरो हो
उसो भए म पनि ?
हुन सक्छ हामी दुइमा एक सहर छोडेर नजाउन्जेल ।
तपाई नी ? हामी सबै साथीहरु एकै मोटेलमा बस्ने कुरा भएको छ ।
के म तपाईलाई हामी संगै बस्नको लागी कर गर्न सक्छु ?
सक्नु हुन्न । म एक्लै रात भरि हातमा बियरको बोतल बोकेर यो सहर घुम्ने मुडमा छु आज ।
उसो भए म पनि मिसिन सक्छु त ?
यो मेरो एक्लैको योजना हो । तपाईको अर्कै योजना छ । म तपाईलाई आफु संगै हिंडाएर दिग्दार बनाउन चाहन्न ।
बाह्र बर्षमा खोलो फर्किएको छ जे जे होस बगाउछ आज ।  म तपाई संगै हुन्छु । यो भेट र तपस्यालाई खाली जान दिने छुइन ।
तपाई होसमा आउनुस भावनाले मान्छेलाई यथार्थबाट अलग्याउँछ ।  हामी हाम्रा पुर्ब तयारी अनुसारै चल्नु पर्छ । तपाई समुहमा हुनुहुन्छ मलाई त्यो समुहको आभा खोस्ने हक छैन ।
उनले अघी एक सुरुप पारेको गिलास एकै सासमा चट पारिन ।
ठिक छ महोदय म तपाईको शान्ति भंग गर्दिन । जय होस हजुरको । उनि अघिल्लो टेबलमा जोडिन । मैले देखें त्यहाँ पनि जुसको गिलास पर सारेर बियर सारिन र पिउन थालिन । समुह अवाक बन्यो ।
वास्वमा कुनै मोडहरु भाग्नका लागीनै बनाइएका हुँदा रहेछन त्यहाँ तपस्या गर्न मेरो अन्तर्मनले दिएन । टेबलमा सौन्दर्य अझै बाँकी भए पनि काउन्टरमा बिल तिरेर फटाफट तोङ्देमुनको सडकमा आफुलाई छोडिदीएँ । सडकमा ल्याम्पोस्टहरु बाट एक एक वटा जून चुहिन सुरु गरि सकेका छन ।

२०१९/८/१

No comments:

Post a Comment