-सुरेन्द्र कार्की
पहिले त म यो बताइदिउकी म एकदमै सामन्य पाठक हूँ र तल उल्लेख सबै कुराहरु सामन्य हुने छन । यहाँ कुनै वाद वा वाद विशेस हुने छैनन ।
रमेश सायनको किताब माथी अझ भनौ कुनै किताब माथी लेखी हाल्ने मेरो त्यो ल्याकत छैन तर पनि मलाइ जे लाग्छ त्यही लेख्छु । लेख्दा लेख्दै लाग्न सक्छ सायनका हितैषी र फ्यानहरुलाई यो पनि सायनको फ्यान रहेछ ।
लाग्न सक्छ छुटेका अनुहार माथी सबैको आ-आफ्नै धारणा रहेछ आ-आफ्नै अनुहार रहेछ ।
पहिलो पल्ट भेट्दा जुन अनुभूती सायन माथी भयो छुटेका अनुहार हात पर्दा र पढ्दा उही अनुभूती सक्कल बमोजीम नक्कल दुरुस्तै रहयो ।
सायन संग नजिकै रहेर उठबस गरेको हिसाबले म जे लेख्दै छु त्यो निष्पक्ष नहुन सक्छ । भेटेजती ठाउँमा गाली गरौँला नभेटे पनि बेप्रसंग तानेर गाली गरौंला । आज म उस्लाई गाली गर्ने मुडमा छु । उ संग आलोचना सुन्ने कान छन । म सुध्रिनु पर्छ भन्ने उस्को चेतना छ । मतलब उ बिग्रेको कुरा उस्लाई थाहा छ । म आज उस्लाई बेस्मारी गाली गर्ने छु
प्रिय सायन, एउटा पाठकले एक लेखकलाई तिमी या तँ भनेर सम्बोधन गर्नु साह्रै छाडा प्रबृति हो । म सबै लेखकहरुसंग क्षमा प्रार्थी छु । अलिकती छाडा प्रबृति हावी भयो भने हिम्मत आउने छ गाली गर्न । म गाली गर्दै छु र गर्ने वाला छु ।वास्तबमा यो लेखिरहने कुरा हैन लेख्दा लेख्दै देखिनु पर्ने कुरा हो । तर गाली गर्नु पूर्ब जे छ त्यही हेरौँ छुटेका अनुहारमा एउटा सामन्य पाठकको धारणा ।
किताब छिर्नु पहिले एउटा प्रसंग उजागर गरौँ लाग्यो
म्यासेन्जरको कल रिसिभ भयो ।
म- सायन सर नमस्कार
ऊ- नमस्कार सर मैले दुख दिएँ है तपाइलाई
म- हैन हैन दुख हैन खुशी भन्नुस् खुसी छु म तपाइ संग जोडीन पाउनु खुसीको कुरा हो मेरो
ऊ- हा हा सर पनि धन्यवाद यार ।
म- दुख भन्दा पनि एउटै बेग्लै अनुभूती भइ रहेको छ तर मलाई तपाइले जस्तो लेख्न आउदैन महशुसहरु अभिब्यक्त गर्न आउदैन
ऊ- हैन सर तपाइ लेख्नु हुन्न र पो त लेख्नु न आइ हाल्छ नी ।
अहिले म लेख्दै छु अब लेख्दा लेख्दै नलेखिने कुराहरु पनि लेखिन सक्छन । साह्रै झिँजाकुराहरु पढ्दा तपाईहरुलाई बोर हुन सक्छ ।
छुटेका अनुहार मेरो ठेगना पहिल्याउदै दक्षिण कोरिया आइ पुग्यो । कोरिया सायनले पनि तिन वर्ष मजदुरी गरेको देस हो । मेरो डबल भयो । मेरो निम्ति मात्रै थिएन किताब कोरिया भरी सबै पाठक माझ पुर्याउनु पनि थियो ।
किताब आउँदा सायन आए झैं भयो । उस्को एकलहर महकता किताब संगै आयो । उस्का यादहरु पुनर्ताजगी भए । म अहिले जुन कम्पनीमा काम गर्दै छु सायन धेरै पटक आइ सकेको ठाउँ हो ।
इनबक्समा साथीहरुको म्यासेजको चाङ लागेको छ । किताब पढ्ने हतारो सबैमा छ । मध्यान्न १२ बजे मैले किताब बुझे । मध्यरात १२ बजे सम्म काम छ मेरो । काम सकेर म्यासेजबाट साथीहरुको ठेगना कलेक्ट गर्दै गए ।
यो डिजीटल प्रबृतिले मान्छेलाई निकै अल्छि बनाएको छ । साथीहरु सिधै आइडि कार्डको , कम्पनीको होडिङ बोर्ड र भिजीटिंग् कार्डको फोटो खिचेर फोटो म्यासेज गर्नु हुन्छ । पानी बिनाको कूलो जस्तो कूलो बिनाको पानी जस्तो । कतै पानी छैन कतै कूलो छैन कतै नाम छैन कतै नम्बर छैन ।
ठेगना मिलाउँदा मिलाउँदै दुइ बजेछ । दुइ बजे पछि शरिर मात्रै हैन दिमाग पनि पुरै लाटो हुने पुरै गल्ने । कतै नाम दुइ पल्ट लेख्ने कतै नम्बर नलेखी किताब प्याक गर्ने कतै एकै ठेगना तिन पटक सम्म लेखि रहने । दिमागको सेन्सरले काम गर्न छोडे पछि शरिरको लय बेलय बन्दो र’छ । आधी पनि काम नसकी सुते दिमागले रेस्ट खोज्यो ।
कसो कसो पाँचै बजे निन्द्रा भंग भयो । करिब सात बजे पछी होस भन्ने मेरो चाहना थियो । केहि बेर प्रयास जारी रहयो काम लागेन । टाउको आधा रन्थनिएको आधा नरन्थनिएको अबस्थामा छ । बल गरेर खाँदा शरिरलाई असर बल गरेर सुत्दा ओच्छ्यानलाई असर । दिमाग भरी छुटेका अनुहार र ठेगनहारु सल्बलाइ रहेका छन । छ बजे पछि दिमाग मिलाउन थाले ठेगना मिलाउन थाले । बिहानको सात चालीस सम्म एकानब्बे वटा किताब प्याक भयो आठ बजे काम सुरु । दिमाग आधा अच्कल्टो आधा काँचो छ ।
मध्यान्न १२ बजे एक घण्टाको रेस्ट टाइममा किताब पठाउन हुलाक घर गएँ । किताब पठाए पछी बल्ल आनन्दको मिठो स्वास भित्रै बाट स्खलित भएर निस्कियो एउटा चरमोत्कर्ष । तर आज दिनै भरि टाउको आधा काँचो आधा अच्कल्टो रहयो । काम मध्यराती सम्मै छ । अहिले कम्पनीमा पुरै असार साउन लागेको छ । असार साउनमा किसानले थकाइ मार्न पाउँदैन असार साउनमा कूलोले बिरामी हुन पाउँदैन ।
ऊ म स्वार्थी छु भन्छ । ऊ कुनै एंगलबाट पनि स्वार्थी छ जस्तो लाग्दैन । पत्याउने कुरा गरेपो पत्याउनु सबैले नपत्याउने कुरा कस्ले पत्याउछ ? यो कुरा नपत्याउनुस ऊ स्वार्थी हो । यो कुरा चाहीँ पत्याउनुस ऊ महास्वार्थी हो । मलाई लाग्छ बिना प्रसंग ऊ आफ्ना बाउ आमालाई पनि सम्झिदैन । सम्झिदा पनि ऊ संग भूमिका हुदैन सिधै मेरो यो काम गरिदीनु पर्यो भन्छ । उस्को यही बानी ले सबैलाई मोहोनी लाउछ । कम्तिमा ऊ यही दुनियामा छ यही साथी सर्कलमा छ उस्को खोपडीको कुनै तहमा सबैको नाम लेखेर राखेको छ । जो कुनै दिन उस्लाई स्वार्थी मात्रै हैन महास्वार्थी हुन अभिप्रेरित गराउँछ । उस्ले सम्झेका दिन साँच्चै मनको सगर उज्यालो हुन्छ । उस्ले हामी केही साथीलाई कोरियामा किताब बेच्न एकै साथ सम्झियो । मनको सगर उज्यालो भयो ।
आउनुस अब उज्यालो मन बोकेर छुटेका अनुहार तिर लागौँ ।
उस्को किताब छिर्नु अघि आफ्नै दिमागको पाना पल्टाएँ को को कता कता छुटे । एक पटक स्मृतिपटलमा भूमरी चल्यो यादहरु तितर बितर भए । यादहरुको आलाप गुन्जियो यादहरुको बिलाप पोखियो । यादहरुको पोखरीमा ढुंगा खस्यो यादहरु छचल्किए ।
म उस्लाई भंयकर गाली गर्छु । अरुलाई के लाग्छ त्यो हैन, बस्तुगत या बिषयगत तथ्य र सिद्धान्त के हुन त्यसका बिषयमा बहस गर्न म आफुलाई योग्य मान्दिन । तर एक सरल पाठकलाई उस्का सरल नजरले के देख्यो त्यो मात्रै लेख्छु त्यो लेख्न मलाइ कुनै वाद या सिद्धान्त जानी रहनु आवश्यक छैन ।
किताब हातमा परेको तिन दिन पछि मैले किताब खोले । वाह ! किताब क्या गजव छ । पाना पल्टाउन के सुरु गरेको ( एक झमट गाली दिइ हालौ ) खोइ भूमिका ?
क बाट कछुवा ख खरायो खरायोको सिङ छैन कता हरायो भनेझैं । सिङनै रहेनछ भेटियोस कहाँ बाट । फेरि अर्को पाना पल्टाए । (ऊ आफूलाई रुखो मनुवा हुँ भन्छ किताब भित्र पनि भेटिन्छ । ) खोइ बिषय सुची ? सिङ त छैन छैन पुच्छर पनि छैन ।
मेरो बानी छ किताब पढ्नु पूर्ब भूमिका पढ्ने । खयर पछिल्लो समय भूमिका लेखन विवादित बन्दै गइ रहेको कुरा पनि आइ रहेछन । निष्पक्ष छैनन भन्ने कुरा पनि छ । तर सबै भूमिका लेखकलाई एकै तराजुमा जोख्न भने हुदैन ।
सहि मुल्यंकनका साथ लेखिएको भूमिकाले किताबको ओज बढाउछ । भूमिका समग्र किताबको निचोड हो सारंस हो । भूमिका किताबको मूल ढोका हो । पुरै किताबलाई हेर्ने आँखा हो । पुरै किताबको मन मुटु हो । मन र मुटु बिनाको मान्छे कस्तो हुन्छ ? आँखा बिनाको यात्रा पक्कै सहज हुदैन । ढोका बिनाको घर मूर्खताको परकाष्ट हो । ऊ आफुलाई पट मुर्ख हूँ भन्दै गर्दा यो स्वत: साबित हुन्छ ।
कस्तो गाली गरौँ गरौँ भइ रहेछ । गालीको पुरै फ्लोमा गइ रहेको छु म ।
किताबको अन्तयमा लेखको भनाइ छ ‘ मेरा गाली सुन्ने कान छन ‘ । यो गालीले लेखकको आँखा चुमुस । उनले भनेका छन ‘ यो अब मेरो मात्रै किताब भएन पाठकको पनि हो ।’ यदि पाठकको पनि किताब हो भने खोइ त भूमिका ? अघिल्लो किताबमा पनि कुनै भूमिका थिएन प्राय सबै चुपै रहे । र अब यस्मा पनि छैन । यो त सुनियोजीत नै भयो ।
यदि यो किताब पाठकको पनि हो भने पाठकको पनि चाह हुन्छ किताब प्रति विश्लेसकहरुको के कस्तो दृष्टिकोण छ भनेर थाहा पाउने । साहित्यको पनि आफ्नै मूल्य मान्यता विधा र आधारहरु होलान र हुन्छन यस्लाई जो कसै लेखक संम्पादक प्रकाशक या पाठकले तोडी हाल्न मिल्दैन । हामी दैनिक जीवनमा सिस्टमको रट लगाइ रहेका हुन्छौ तर समाज र साहित्यका अगुवा या सचेतकहरुले नै सिस्टमलाई नपच्छ्याउने हो भने बोली र रट ले मात्रै समाज सुध्रिदैन ।
यदि लेखकले अरु भन्दा आफुलाई फरक धारमा उभ्याउन खोजेका हुन भने यो चलाखी उति चलाख पुर्ण भएन । कोही अरु भन्दा फरक देखिनकै हिसाबले खुल्ला सडकमा बिना पहिरन साल्सा डान्स गर्दै हिंड्न मिल्दैन । यदि हिंड्छ भने उस्लाई त समाजले पक्कै पनि स्विकार गर्दैन ।
भूमिका र विषय सूची नहुनुको पछाडी लेखकलाई मात्रै दोष देखाउनु पक्कै न्यायिक नहोला । यस्मा संम्पादक र प्रकाशकको पनि उतिकै हात छ । यो कुरा उनिहरुले सुझाउनु पर्थ्यो र सुल्झाउनु पर्थ्यो । लु मानौ लेखक संपादक र प्रकाशकलाई अरुसंग झुक्न नसक्ने बानीले या ज्यू ज्यू गर्दै नहिंड्ने नेचरले भूमिका लेखन हुन सकेन होला । ( यसरी पन्छिन मिल्दैन । समाजका वुद्धिजीवि र अग्रजहरुले नै गलत संस्कारको डोर बसाले भने समाज कुन दिशा तिर अग्रसर हुन्छ ? यो कुराको हेक्का राख्नु पर्छ । उनिहरुसंग अरुसंग भन्दा बडी जिम्मेवारी छ यो कुरा बुझ्नु जरुरी छ ।)
तर विषय सूची चै के कति कारणले राखिएन ? मात्रै एक पेज विषय सूची राख्न तिनै पक्षलाई के को महाभारत भयो ? सबै पाठक संग फुर्सदै फुर्सद हुन्छ भन्ने छैन । कुन शिर्षक कति पेजमा छ भन्ने कुरा उल्लेख हुनु पर्थ्यो । यो विषय सूची नराख्नलाई महाकाव्य खण्डकाव्य नाटक या उपन्यास हैन । शुरुमै भनिएको छ यो निबन्ध संग्रह हो भनेर । यदि संग्रह हो भने के के संग्रह गरिएको छ त्यो उल्लेख हुनु पर्दैन ? समिक्षकहरुलाई त झन जटिल र झन्जटिलो बनाएको छ । कुनै लाइनले टच गरेको हुन्छ शिर्षक याद छ पेज अन्योल । फेरि पुरै किताब यता र उता पल्टाउनु पर्छ । यो पाठक माथीको अन्याय हो ।
पाठक एक क्रेता र उपभोक्ता पनि हो । उस्ले आफ्नो खल्तीको मूल्य लगाएर किताब किनेको हुन्छ । लेखक संपादक र प्रकाशकहरु ब्राण्ड र डिलर । हामीले कुनै ब्राण्डको ज्याकेट कुनै डिलरबाट लिदै गर्दा यदि फस्नरै छैन भने, गोजीनै छैन भने, बाहुलानै अपुरो छ भने, या कतै ड्यामेज छ भने के हामी त्यो ज्याकेट लिन्छौ ? यो एउटा सरल प्रश्न हो र गम्भिर त्रुटी । यदि उनिहरुले भूमिका र विषय सूची राख्न सक्दैनन भने पाठक र समिक्षकहरुबाट प्रतिक्रिया खोज्नु पनि बेकार हो ।
अब आउनुस् विषय प्रवेश गरौं।
यहाँ जति शिर्षकहरु छन साह्रै सुन्दर छन । म यति छन भनेर भन्दिन । ब्राण्डहरु रुखो हुन मिल्छ भने उपभोक्तालाई पनि त्यो छुट छ ।
एकबाइ एक क्रमश पढ्दै गए । वास्तवमै सायनलाई पढ्नु साह्रै मजा आउछ । अझ सित्तैमा पढ्दा त मजा आउँथ्यो भने उस्लाई किनेर पढ्नु झनै मजाको कुरा । पढ्दै जाँदा अल्छि लगेर बिसाइ हालौँ एउटा लामो थकाइ मारौँ भयो बन्द गरेर दुइ चार दिन नै नपढौँ, यस्तो कहिं कतै हुदैन । किताब संग मिसिए पछि क्युरोसिटीको कतै अपमान हुदैन । एकदमै लयात्मक एकदमै बिम्बात्मक जताततै आफुनै आफु भेटिन्छ किताबमा । सायद लेखकको अशल धर्म यहि नै हो । जहाँ हरेक शब्दहरुमा शिर्षकहरुमा पाठकले आफुलाई भेटोस आफुनै महशुस गरोस र आफुनै हिंडोस आफुनै डुलोस स्वयमलाई रुवास स्वयमलाई हँसावोस स्वयमलाई स्पर्ष गरोस स्वयमलाई अलग्यायोस । यो सबै सबै लहरहरु छुटेका अनुहार भित्र मनग्य पाइन्छ । पढ्दै जाँदा आफैँ संग छुटेको आफ्नै समय आफैँ सामू आएर उभिन्छ । यो नै लेखकको सबै भन्दा कुशल क्षमता हो ।
करिब पाँच घण्टाको अबधीमा किताबको यात्रा सकिन्छ । सामाजीक संजालमा छुटेका अनुहार प्राय एकै बसाइमा सकेको प्रतिक्रिया पाठकहरुबाट प्रशस्तै आएको छ । यस्ले दुइ कुरा सहजै दर्साउछ । एक किताब पढ्न योग्य छ । दुइ सायनको किताब पर्खि बस्नेहरुको भोक । भोक सबै भन्दै महत्व पुर्ण कुरा भोक मेटिनु चरम आनन्दको कुरा ।
छुटेका अनुहारका सम्बन्धमा अहिले लेखि रहँदा मलाइ एक प्रकारको डर लागि रहेको छ । सायन शब्दका माली हुन पुजारी हुन खेलाडी हुन । उनका सुन्दर शब्दहरु माथी मेरो सस्तो टिप्पणीले कतै दाग पो लाग्ने हो की ? यो डर म भित्र मडारि रहेको छ र पनि म लेख्ने जमर्को गरि रहेको छु । डर एक सम्मान पनि हो उनलाई ।
कला सबै संग हुन्छ तर शब्द सिंगार्न सक्ने कला सबै संग हुदैन । पाखामा लडेको पत्थरलाई पनि एउटा कालीगढले मुर्तिमा परिणत गरिदीन्छ । यो हो कलाको ताकत। छुटेका अनुहार सरसर्ति पढे पछि रमेश सायनमा त्यो ताकत अथाहा रहेछ भन्ने चेत जो कोही पाठकमा सहजै पर्छ ।
किताब एकदमै सरल विषय वस्तुमाथी सरल भाषा शैली र आक्रषक प्रस्तुतिले साह्रै सुन्दर र सहजै बुझ्न सकिने बनाइएको छ । पुरै किताब पढि सक्दा कहिं पनि क्लिस्ट भाषा शैली र शब्दको प्रयोग पाइदैन । यो म जस्ता सामन्य पाठकको लागी एकदमै स्वस्थ्य कुरा हो । डक्टरी कुरा हैन ।
समाजको एक तप्का र तह माथी लेखकले सुन्दर र व्यंग्यात्मक शैलिको माध्यमबाट निरन्तर प्रहार गरेको प्रशस्तै अनुभूत गर्न सकिन्छ । हुन त उनले अघिल्लो कृतिमा पनि त्यो झल्को दिएका थिए । किसोर वयमा रुसी र चिनीयाँ लेखकहरुका संघर्ष शिल तथा क्रान्तीकारी पुस्तकहरुको प्रभाव पनि परेको हुन सक्छ । उनले ‘फेल’ शिर्षकमा आफुलाई यस्तै चित्रण गराएका छन । त्यो तह र तप्का भनेको मालिक र शासक वर्ग हो ।
किताबको ओपनिंग्मै तलतलको मात्रा ज्वरो बढ्दै गएको थर्मोमिटर झै निरन्तर बढ्दै जान्छ । नेपीली युग भर्चुअल युगमा पाइला राख्दै गर्दाको सुरुवाती काल खण्ड हुबहु चित्रित छ ‘सिमकार्ड’ शिर्षकमा । उसो त रानी ‘खान’की छोरी हो मा लेखकले आफुलाई निचोरेर पगालेर लेखेका छन । एउटा कविताको अंश बारबार दोहोरीन्छ शिर्षक भरि जस्ले यो निबन्ध हैन कविता पढिरहेको भान दिन्छ । जस्तै
‘ रानीसंग मेरो केही हुनेवाला थिएन । उस्की आमाले मलाई आमा भन भनेकी छे ।
तर ऊ खानकी छोरी हो । रक्षा बन्धनमा उस्ले मेरो हातमा डोरी बाँध्दिन । भाइटिकामा मेरो नाममा ओखर फोर्दिन ।
तर उस्की आमाले मलाई आमा भन भनेकी छन ।’
यति कवितांसले पुरै पाठ कवितामय लाग्छ । यो निबन्ध निकै मार्मीक छ तर अझै गहिराइमा पुग्न सक्नु पर्थ्यो । आफु जसरी पग्लिएर लेखे पाठकलाई पनि उसै गरी पगाल्न सक्थे । तर पग्लिनु खोज्दा खोज्दै निबन्ध सकिन्छ । यस्तै पाठकलाई पगाल्न सक्ने शिर्षक ‘ रामलाल केही हैन’ र ‘ अर्गानिक मान्छे ‘ पनि हो । यस्मा पनि लेखक धेरै गहिराइमा छलाङ नमारी अरु शिर्षकमा मोडिएका छन ।
रामलाल दुखको एक बिम्ब हो जो हाम्रो टोल छिमकको दर्पण । रामलालमा रामलाललाई लेखेकले साँच्चै सुन्दर आक्रसक तरिकाले टिपेका छन ‘ ‘ उस्ले सिधै गफ गर्न सक्ने त टोलका भुस्याहा कुकरसंग मात्रै रहेछ ।’ यो सिंगो समाज प्रतिको धारिलो ब्यंग्य पनि हो । कुलिन वर्ग र न्युन वर्गको फराकिलो अन्तर यहाँ प्रस्टै झल्किन्छ ।
‘ अर्गानिक मान्छे’ मा दिपक जस्तो पात्र गाउ तप्कामा छ्याप्छ्याप्ती मौलाएका छन । सडक र बिजुली पुगेका सुदुर गाउँहरुमा अहिले मल्टिनेस्नल कम्पनिहरुको आतंक थामी नसक्नु हिसाबले छापामार शैलीमा पुगेका छन । सहर त यस्ता कम्पनिहरुको चंगुलमा फसेको जुग भयो अब गाउँ पनि गाउ रहेनन । आज भोली घरमा पाकेको खाना बारीमा फलेको तुलफुल कसैलाई मन नपर्ने भइ सक्यो । यो सबै असर मल्टिनेस्नल कम्पनिहरुकै आतंक हो । यस्मा लेखकले भनेका छन ‘ दलाल शब्दको ठाउमा अरु थुप्रै नेपाली शब्दहरु छन तर उस्को लागी दलाल शब्दनै ठिक छ । उनि हरेक चिजमा दलाली हान्दिन्थे जस्तो ‘ जमिन बेच्ने धनि माथी खाडी जाने मजदुर माथी बजारमा साग बेच्ने किसान माथी गाडी किन्ने ग्रहाकमाथी ।’ यो अहिले समाजमा फस्टाइ रहेको अशली चित्र हो । सायन वास्तवमै शब्दका जादुगर हुन । बेठिक ठाउ र बिना प्रसंगमा उनि कुनै शब्द खर्चनै गर्दैनन । यो एक अशल लेखकको सबै भन्दा उत्तम गुण हो ।
जब पढ्दै डटपेनमा पुगिन्छ । डटपेन शिर्षकमा पनि निबन्ध लेख्न सकिन्छ भनेर सोचेकै रहेनछ । ऊ नसोचेका कुरा सजिलै लेखिदीन्छ । सिंगो शिक्षक जमातलाई उनले तिखो ब्यंग्य बाण साँधेका छन जस्तै ‘ हाम्रा शिक्षक भन्नु तेल निथ्रिएका सुक्खा पिना जस्ता प्रेम निथ्रिएका रुखा जिनिस थिए । जस्ले मास्टरको हात भेट्यो उस्ले कट्टु मुत्यो ।’ यो वाक्यंशले एक दुइ शिक्षकको मुहार ताजा गराइदियो । अहिले पनि यो प्रबृति निर्मूल भइ सकेको छैन । यहि शिर्षकको अर्को कवितांशले दुर्गम गाँउको मुहार सर्लक्कै उतारेको छ ‘त्यो दुर्गम गाउँ जहाँ नुन हिंडेर दाल तरकारी सम्म आउँथ्यो । जहाँ वर्षमा एकाध पटक नयाँ कमिज हिंडेर ज्यान सम्म आउँथ्यो । चाडपर्व लाहुरेको काँधमा चढेर गाउँसम्म आउँथ्यो ।’ यो शिर्षकमा एक फन्टुस पात्रलाई राम्रो संग चित्रण गरिएको छ ।
चकचक शिर्षकमा बालापनका सानामसिना हर्कतहरु दुरुस्तै उतार्नु लेखकको खुबि हो । सरलकुरा उठाएर उतिनै लयमा मिलाएर राख्नु एकदमै मुस्किल काम हो । मुस्किल मान्छेहरुले मात्रै यस्तो चुनौती सहजै पार गर्छन । अन्तिममा एक शिक्षकको चकचक साँच्चै नमिठो छ । मन चसक्क हुन्छ थाहा नहुने ठाउमा बिझाउछ नदुख्ने ठाउमा दुख्छ । उनि हर घटना सहजै लेख्न सक्ने मान्छे हुन । महशुस लेख्न सक्ने मान्छे हुन भाव लेख्न सक्ने मान्छे हुन । सबै लेखकका आ आफ्नै शैली छन तर मलाई भाव र फिल पनि सहजै सरल तबरबाट लेख्न सक्नेमा कवि मनु मञ्जिल पछि रमेश सायन लाग्छ ।
उन्ले आफ्नो प्रेम लेखे साथी लेखे देस लेखे परदेस लेखे । उनले आफुलाई लेख्न मिल्ने सम्म लेखे । एउटा कवि जो मुलधारमा उभिएर बहस गर्ने हिम्मत राख्छ ऊ पनि आप्रबासी मजदुरको नाममा देश बाहीरिनु साँच्चै देसको युवा उत्पादन निकै जर्जर अवस्थामा पुगेको देखिन्छ ।
किताब भरि सायन साह्रै मजाले पोखिएका छन साह्रै नमजाले पोखिएका छन । उनि शब्दका कुशल कालीगढ हुन । उनि प्रशंसाका अति नै योग्य पात्र हुन । उनको किताब पढे पछाडी अर्का झनै प्रसिद्ध लेखकको किताब मेरो हातमा छ ‘ यार’ । इमान्दारिका साथ भन्नु पर्दा ( मलाई यहा बैइमान हुनु पर्ने कारण छैन तर तुलना नगर्दै पनि हुने कुरा हो ) छुटेका अनुहारमा जुन कलात्मक साहित्य प्रवाह छ ‘यार’मा कलात्मकताको त्यो चरम उचाइ त्यती छैन तर यारको बेग्लै मिठास र लय चै अवश्य छ । त्यसैले पनि सायन प्रसंसाका योग्य पात्र हुन ।
करिब छ वर्षदेखी म संगै काम गर्ने पूर्ब विराटनगरका एक भाइ छन उनले कोर्सका किताब पढ्न छोडे देखि कुनै किताब नपढेको कुरो बताइ रहदा उनले छुटेका अनुहार किनेर पढ्न थाले । उनि बताउछन सायनदाईको किताब साँच्चै रहर लाग्दो र’छ पढ्न थाले पछि नसकी उठ्नै मन नलाग्ने । कहिल्यै किताब नपढ्ने मान्छेले पनि किताब पढ्दा आफुलाई भेट्यो आफ्नो बिम्बलाई भेट्यो आफ्नो परिबेसलाई भेट्यो । जब किताबमा आफुलाई भेट्दा आफ्नो परिवेसलाई भेट्दा उस्को चेहरामा जुन प्रकारको हार्मोनको महकता देखिन्छ त्यो मैले देखे । सायन त्यो स्तरमा लेख्छन त्यो स्तरका प्रसंसाका पात्र हुन ।
किताब निकै लयात्मक छ यो एउटा लामो कविता जस्तो पनि हो । किताब एकै बसाइमा सकिन्छ । किताब पढ्दै जादा अरु लामो हुनु पर्ने महसुस हुन्छ । पाठकहरुलाई सहजै किताब तर्फ खिच्न सक्नु यो बिल्कुलै सकरात्मक पक्ष हो । सकरात्मक पक्ष नव्वे प्रतिशत भए पनि बाँकी पक्षमा केही त्रुटि छ । उनले लभ लक र अनलक एकै किताबमा राख्नु यो उनको कम्जोरी हो । यहाँ प्रश्न र उत्तर खेले जस्तो छनक भेटिन्छ ।
किताब एकदमै तथ्यगत विषय वस्तुमा मात्रै टिकेर अगाडी गएको अनुभूत प्रशस्तै गर्न पाइन्छ । अझै त्यसमा मसला स्वरुप काल्पनिक शिलता कारुणिक रस र दार्शनिक चेतको भरपुर प्रयोग गर्न सकेको भए सुनमा सुगन्ध हुने कुरा नकार्न सकिन्न ।
किताब भरि उनले आफुलाई लेखेका छन आफ्नै घट्ना परिघट्नाहरुलाई लेखेका छन । आफुलाई प्रथम पात्रमा उभ्याएर राखेका छन । यसो गरि रहँदा उनको दोहोरो चरित्र सहजै देख्न सकिन्छ । उनले धेरै ठाउँमा आफुलाई हार नमान्ने पात्रको रुपमा चित्रित गरेका छन । आफैं संग हार्ने कुरा आफैं संग डराउने कुरा उनलाई कदापी स्विकार छैन तर म पात्रको मनोबिज्ञान केलाउदा सबै ठाउँमा त्यस्तो भेटिदैन । जस्तो लभलक जागिर तिन उपशीर्षकमा ऊ मनग्य डराएको छ आफैं संग भागेको छ । अर्गानिक मान्छेमा त म पात्र मल्टिन्श्नसल कम्पनिको सुत्रनै भूलेर निकै बिचलित बाटो हुदै गुज्रिएको छ । यसरि उनका दोहोरो चरित्रले पाठकलाई केही अलमल पार्न सक्छ । तर जीवन प्रतिको सहि तत्व बोधले नै लभलक मा ऊ भागेको कुरा चाही सहि हो । यहाँ ऊ वर्तमानमा मात्रै रमाउने हैन भविष्य प्रति पनि उतिनै चिन्तित छ भन्ने कुरा आकंलन गर्न गाह्रो छैन ।
जस्तो एक दुइ उनका वाक्यहरु साँच्चै नमिलेको जस्तो साँच्चै नसुहाएको जस्तो लाग्छ । जस्तै उनि हरेक ठाउमा आफ्नो बाको घर भन्छन बाको घरमा बस्छु भन्छन । यो कति नमिल्दो वाक्य कति नसुहाउदो वाक्य । एक अशल मान्छेलाई एक अशल लेखकलाई यसो भन्नु शोभा दिन्छ ? कि गाँउको घर भन्नु अलि मिल्छ । सकेसम्म घर भन्नु यो पो मिल्ने वाक्य हो । जब बा आमा आफ्ना हुन भने घर कसरी अर्काको भयो । कि उस्को बा आमा प्रतिको मोह भंग भएको हुनु पर्यो । यस्तो पनि किताब भरि या किताब बाहिर उनको जीबनमा पनि देखिदैन । यो सरासर गलत वाक्य मन्त्र झैँ जपि रहन्छन किताबमा पनि किताब बाहिर पनि । उनि आफैंले क्रेट गरेको एउटा समाज छ जहाँ समाजको पनि उनि प्रती केही दृष्टान्त होलान त्यस्लाई पनि उनले मध्यनजर गर्नु जरुरी छ ।
जस्तै अर्को प्रसंग नभनि मैले यतिकैमा अन्तय गरे भने मेरो मन अमिलो भइ रहने छ । किताब सरसर्ति यात्रा गर्दा यो निबन्ध नभएर संस्मरणात्मक कृति भन्नु पर्थ्यो की ? कि त कथा संग्रह भन्नु पर्थ्यो । विषय बस्तुको ठेहेराबले मात्रै यो निबन्ध संग्रह हो भन्न सकिएला । नभए त लेखक स्वयमले पनि हरेक शिर्षकमा यो कथा हो भनेर बगि रहेकाछन । सरसर्ति पढ्दा गैरआख्यान हैन आख्नकै तिर्खा मेटाउछ आख्यनकै भोक मेटाउछ सिवाय बाको घडी क्रान्ति बाहेक । किताब भरिमा निबन्ध छ भने त्यो बाको घडी क्रान्ति हो जो साँच्चीकै निबन्ध हो । जस्मा सायनको दार्शनिक चेत भरपुर मात्रामा देख्न सकिन्छ । जस्तै ‘ तँ यो सेकेण्ड सुई जस्तै चलाख हुनु पर्छ टाठो बन्नु पर्छ घण्टा सुई जस्तो जिन्दगीको काम छैन ‘ जस्तै ‘ घडीले अर्ध क्रान्ति गर्यो मलाई मात्र सेकेण्ड सुई जस्तै चलाख हुनु पर्छ भन्यो । एक घण्टाको अघि पछि जन्मेका दिदी भाइलाई बाको घडी क्रान्तिले छुट्यायो ।’ यो चेतनाको उच्च स्तरबाट लेखिएको निबन्ध हो ।
बाकी सबैमा आख्यनको स्वाद ब्यापक मात्रामा छ । यो हिसाबले हेर्दा साँच्चीकै निबन्धका पाठकहरुलाई यो कृतिले अन्याय गरेकै छ यो नितान्त मेरो धारणा हो । यहाँ मलाइनै लागेका कुराहरु मात्रै मैले लेखि रहेको हुँ ।
यहाँ मैले केही शिर्षकहरु मात्रै लेखें । अरु राम्रा शिर्षकहरु पनि छन । पुरै किताबमा प्रयोग भएका शबदहरु लोभ लाग्दा छन । दुइसय पचास थुँगामा फूलेको यो किताब साँच्चै राम्रो फूलबारी हो भन्न मैले कुनै पनि हालतमा कन्जुस्याँइ गर्नु हुदैन । र उनि एक पोख्त माली । सम्भवत मान्छे बत्तिसै लक्षणले परिपुर्ण कोही पनि हुदैन कहिन कहि साना मसिना खोट हुदै गर्छन । राम्रो केही गर्दै छ र गल्ती पनि केही हुदै छन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हिड्ने मान्छेनै लड्छ नहिंड्ने मान्छै हैन रमेश सायनलाई अझै लामो यात्राको शुभकामना ।
पुस्तक पढ्नै पर्छ भन्ने छैन नपढ्दा पनि हुन्छ । नपढ्दा के बिग्रिन्छ भन्दा एउटा सुन्दर किताब सजिब अक्षरहरु पढिएन भन्ने कुरो बिग्रिन्छ । किताब पढि रहदा हाम्रो समयको साँच्चिकै सम्मान भएको महशुस हुन्छ । त्यसको लागी पनि सायनलाई बधाई ।
जाँदा जाँदै सम्पादन पक्षलाई पनि बधाई उस्को मौलिक स्वाद ठाँउ ठाँउमा राम्रै भेटिन्छ । सायन शब्दका कालिगढ त हुन तर अशुद्ध लेखनका महारथी पनि हुन । उनको अशुद्धपनलाई निफनेर शुद्ध बनाउन जोतारे धाइबाले ठूलै मेहनत खर्च गरेको आभास हुन्छ । लिपि बुक्सलाई पनि बधाई जस्ले एउटा राम्रो लेखकलाई साथ दियो ।
र, धन्यवाद ‘किताब यात्रा’लाई जस्ले दक्षिण केरियासम्म किताबको यात्रा सहज गराइदियो । अन्तयमा धन्यवाद कोरिया भित्र साथीहरुले जसरी छुटेका अनुहार पढ्ने उत्साहा ब्यापक देखाइदिनु भयो ।
पून: जाँदा जाँदै छुटेका अनुहारलाई सफलताको शुभकामना ।
No comments:
Post a Comment