मिसीन
सम्झन्छु, सानो छँदा मिसीनसंग नजिक हुने उती बाक्लो अवसर मिलेन । अहिले मिसीन नै मिसीनको जंगलमा मिसीन चलाउन पाउदा खुब आनन्द मिलेको छ ।
अहिले मटक मरुन्जेल मिसीन चलाउन पाइएको छ फरक यति हो मिसीनले बनाएको पासपोर्टमा मिसीनबाटै भिसा हानेर मिसीन नै चढेर मिसीनको जंगलमा मिसीन चलाउनु परेको छ ।
घरमा मिसीनका नाममा एकदमै कम सामाग्रीहरु थिए । बा को दाह्री काट्ने मिसीन पहिलो नम्बरमा पर्छ । बा ले भाटोलाई काटेर गजबको छुरा बनाउनु हुन्थ्यो । त्यतिबेला टोपाजको ब्लेडलाई छुराको तल माथी आयु सकिएका जनैले कसरे बाँध्नु हुन्थ्यो एकदम टाइट । तर खै किन हो एकदम आक्रषक टलक्क टल्किने बट्टाको दाँदे जस्तो मिसीन त्यती चलाउनु भएन ।
अर्को थियो घरको मूल थाममा कपडाको सिक्स एब्सवाला झोलामा झुण्डिएर बोली रहने रेडीयो । बहुत आक्रशक मिसीन लागेको हो रेडीयो । यति सानो रेडीयो भित्र मान्छे कसरी अटाएका होलान ? एउटै मान्छे फरक फरक तरीकाले बोल्छ गाउँछ भन्ने सच्थ्यो त्यो बाल मस्तिष्क ।
र अन्तिम मिसीनका रुपमा आमाको गलामा झुण्डिएको साँचोको झुप्पोमा थियो एउटा बुडो रंग रोगन खुइलिएको नैनी । बुडो यस अर्थमा पनिकी बोरु कर्द धारिलो हुन्थे नैनी नैनी जस्तो मात्रै थियो । म हेर्थे गाउघरमा काकी बडेमाहरुको गलामा पनि साँचोको झुप्पो हुन्थ्यो तर नैनी हुदैन थियो त्यो बेला अर्कै आनन्द हुन्थ्यो ।
मिसीन नै मिसीन चै त्यतीबेला देखिन्थ्यो जती बेला तोरी पेल्न धान कुट्न मिल जानु पर्थ्यो । मिल चै पुरै मिसीन थियो । लामा लामा फित्ता द्वारा चुइ चुइ गटक्टक्टक् गर्दै कराउदै घुम्थ्यो । नजिकै बसेर हेर्न खुब रमाइलो लाग्ने । मिल बाट निस्केको गन्ध र धुवाँ बहुत मिठो लाग्थ्यो । मिठो लाग्नुको कारण अहिले मिसीन चलाउनु रहेछ ।
मान्छेहरु मिसीन भए देखी र मिसीनहरु मान्छे भएदेखी संसार मेशिनरी चरणमा यात्रारत छ ।
मान्छेहरुले मिसीन बनाए अब मिसीनहरु मान्छे बनाउदै छन
जस्तोकी भगवानले मान्छे बनाए मान्छेले भगवान बनाए ।
मान्छेले बनाएको भगवानबाट मान्छे मान्छे बिचमै बिभाजीत छ मान्छे अब मान्छेले बनाएको मिसीनबाट मान्छेकै अस्तित्व धरापमा पर्दै छ । तर म मिसीन चलाउन पाएकोमा खुब आनन्दित छु ।
मिसीनले पुरानो कुरा याद दिलाई रहेछ । म कल्पना भन्दा बाहीरको त्यो संसारमा छु जो सपनामा पनि यसरी मिसीन चलाउने कुरा सोचिएको थिएन ।
सपनामै नसोचेका कुरा पुरै अनौठा लाग्छन । जीवन एउटा अनौठो प्रक्रिया हो ।
मैले अगि भर्खरै साथी संग बातैबातमा छन्योंगीको कसम खाएँ । उ बेला कलकल धाराको पानी पिएर नजिकैका वायुथान देवीथानको कसम खाइन्थ्यो । हामी कसम खानु पर्ने समाजमा हुर्केका मान्छे हौ ठाउ अनुसार कसम खाइयो । काम गर्दै गरेको मिसीनको कसम । मिसीनहरु झुट बोल्दैनन भगवान पनि झुट बोल्दैनन । भगवान बोल्छन या बोल्दैनन थाहा छैन, छन या छैनन थाहा छैन तर मिसीन छ मिसीनकै कसम खाइयो । हामी कसम खाइ रहनु पर्ने परिबेशका मान्छे । हामीलाई हाम्रै बोलिमा भरोसा छैन जति कसममा हुन्छ ।
मिसिनमा हात बसे पछि सजिलो हुन्छ । मेरो हात बस्न छ महिना लाग्यो । छ महिनामा मैले रेन्ची हम्मर नट बोल्टु पिलास प्रजातीका नाम र नम्बर कण्ठै पारे । यि सबै चिजबिज मिसिनलाई आवस्यक पर्ने कुरा हुन । मैले छ महिनामा यि कुराहरु थाहा पाएँ थाहा पाउन अझै हजार छन ।
थाहा पाउनु बडो मुस्कील काम हो । थाहा भएको हरेक चिजलाई दिमागमा जतन गरिएको हुनुपर्छ मैले पनि जतन गरें जुन जुन चिज मिसिनलाई आवस्यक पर्छन ।
त्यसोत आवस्यक नपर्ने चिज पनि जतन छन दिमागमा जस्तो की यो बयालिस नम्बरको स्पाना मिसीनमा प्रयोग भएको छैन तर टुल बक्समा सधैँ सुरक्षित छ । मेरो दिमाग पनि एउटा टुल बक्सनै त हो ।
जस्तो कि पाइथागोरसको साध्य घोकियो अहिले कहाँ काम लागी रहेको छ थाहा छैन
जस्तो की ए पलस बि को होल स्क्वायर जीवनको कुन अध्यायमा देहोरियो थाहा छैन
जस्तो की हरिभक्त कटुवाल ले भनेझै मान्छे मारेको इतिहास पढेर जीवनमा के लच्छार पाटो लाइयो
जस्तो की त्यो मितआमाको घर जाने बाटो अब कहिल्यै काम लाग्दैन त्यहाँ बाट उहाँहरु बसाइ सरि सक्नु भयो । जीवन चाहिने चिजहरुको मात्रै संग्रह हैन दिमाग चाहिने चिजहरुको मात्रै संग्राहलय हैन ।
म विस्वमै नाम चलेको यल्जी कम्पनी माताहतको कम्पनीमा काम गर्छु । मैले ठूलो कम्पनी भनेर गर्ब गर्नु पर्ने कुनै बिषय छैन । फगत म एउटा मजदुर हुँ आप्रबासी मजदुर । मजदुरमा पनि आप्रबासी मजदुर त्यो पनि सबै भन्दा तल्लो स्तरको काम जो देसी मजदुरहरु गर्न चाहदैनन त्यो काम गर्छु म । तर पनि आनन्द छ , जीवनमा सोच्दै नसोचेको काम गर्न पाइएको छ ।
मन दुखको सागर हो सुखको सागर हो सागरबाट हामीलाई के आवस्यक पर्छ त्यही झिक्ने हो त्यही लाउने हो त्यही खाने हो त्यही हिँड्ने हो त्यही बल्ने हो त्यही निभ्ने हो । हाम्रो मन सागर हो, दु:ख र सुख त फगत रंग हुन सागरका अब कुन रंग चुन्ने त्यसैको असर हामीमा देखिन्छ ।
यल्जी ब्राण्डाका सयकडौ हजारौ थरिका सामनहरु बजारमा उपलब्ध छन । त्यस मध्यमा सन २०१२ पछाडीबाट हाल सम्ममा मेड बाइ कोरिया लेखेको वासिङ मिसीन तपाइको घरमा छ भने त्यस्को इन्जीनमा फिट भएको एउटा सामनमा मैले प्रेमले रोपेको मेरो पसिनाको गन्ध मिसीएको छ ।
त्यहा तपाइले देख्न सक्नु हुने छ मेरा हातका धमिला चक्र हुन सक्छन
मेरो मनमा शिशिर जागेका बेला बहेका आँशुका डोब हुन सक्छन
मन भरी भरी वसन्त र शरद फुलेका बेला बहेका आँशुका रेखाहरु हुन सक्छन
हुन सक्छ त्यहा मैले हेरेको मेरो भविष्यको चित्र
मैले हिंडेको मेरो आरोह अबरोह
हुन सक्छ अवस्य हुन सक्छ मेरो जीवनकै सबै भन्दा गोल्डेन युग
तपाइले चलाइ रहेको वासिङ मिसीनमा हुन सक्छ ।
बिगत छ वर्ष देखि वर्षको नौ महिना प्रत्यक दिन दुइटा मिसीनबाट छब्बीस सय पिस सामन निस्की रहेको छ । छब्बिस सय पिस वासिङ मिसीन प्रत्यक दिन । बाकी तिन महिना मिसीनले बडो प्रेमले जीवनको तत्वबोध दिलाउछ ।
मिसीन चलि रहनु जीवनको एक गति हो
मिसीन बिग्रीनु बनाउनु र चल्नु र फेरी अर्को गति हो । मिसिन चलिरहदाँ एक थट उत्पन्न हुन्छ मिसिन बिग्रीदा अर्कै थट उत्पन्न हुन्छ ।
कहिले कहीँ कम्पनीमा कामको गति सुस्त हुन्छ । ओहो ! जीवनमा पनि कहिले कहीँ जीवनको गति सुस्त हुन्छ थकानहरु हुन्छन चौतारीहरु चाहिन्छ शितल चाहिन्छ शान्ती चाहिन्छ । कम्पनी एउटा जीवन हो मिसिन एउटा जीवन हो ।
कहिले कहिँ जीवन साच्चै नमजाले बिग्रीन्छ मिसिन नमजाले बिग्रीन्छ । जुरुक्क उठेर एक कदम चाल्न जसरी शरिरका सबै पार्टहरु सक्रिय हुन्छन तियसरीनै मिसीनका पनि सयकडौँ पाट पुर्जा स्वस्थ्य तन्दुरुस्त हिसाबले सक्रिय हुनु पर्छ ।
मैले चलाउने दुइटा छन्योंगी मिसिनबाट एकै साथ एउटा सामन निस्कीन चालिस वटा मोटर ९४ वटा सेन्सर १३२ वटा हावाका पाइपहरु ३६ वटा क्ल्याम्प र २२ वटा स्लिण्डरहरु स्वस्थ्य तबरले चल्नु पर्छ यि सामन एकै पटक चल्दा दुइटा मिसिनका बिभिन्न दस इन्जीनले पच्चिस सेकेण्डमा एक पिस सामन काट्ने तास्ने ड्रिल गर्ने र चुरी पार्ने काम गर्छ ।
कहिले कही कुन सामन कहा बिग्रीयो पत्तो पाउनै मुस्कील । जीवनमा यस्ता मुस्कील क्षणहरु कति आए गए होला । बाहीरबाट मेकानिकल इन्जीनियर नआए सम्म मिसीन बन्द हुन्छ तर सिस्टम साच्चै लोभलाग्दो छ खबर पुग्ने साथ मान्छे तु आइ पुग्छन । कहिले कही डाक्टरलाई पनि रोग पत्ता लगाउन गाह्रो परेझै मिसिनका पनि रोगहरु त्यस्तै हुदा रहेछन ।
मिसिनका सबै अंग प्रत्यंगहरु दिमागमा फिट गर्नु पर्ने काम निकै गाह्रो हो जस्को बिषयमा पूर्ब जीन्दगी कालो अक्षर भैंसी बराबर छ । मिसिनका बिशेस पाट पुर्जा छुने अधिकार छैन जस्तो हुर्केका छोरा छोरीको सबै अंगमा बिशेस मान्छे भन्दा बहेक बा आमालाई पनि छुने र नजर पुर्याउने अधिकार हुदैन ।
सम्झिनुस त मिसिनका नाममा बा को रेजर आमाको गलामा झुण्डिएको नेलकटर र घरको मूल थाममा बडो सानले बजी रहने रेडीयो सिबाय अरु थाहा नपाएको मान्छेलाई सयौं मिसीन नै मिसिन भएको कम्पनीमा काम गर्न पाउँदा कस्तो आनन्दभूती भयो होला । जहा हावा पनि प्रकास पनि मान्छे सम्म आइ पुग्न मिसिन संग मित लगाएर आउनु पर्छ ।
अहिले मिसिनहरु घर घरमा हात हातमा किचन किचनमा बाटोमा यात्रामा क्षितिजमा गन्तव्यमा जहाँ सुकै जता सुकै मिसिननै मिसीन छन ।
मान्छे मिसिन बिना हिंड्न सक्दैन बोल्न सक्दैन खान सक्दैन गाउन सक्दैन लाउन सक्दैन उठ्न सक्दैन बस्न सक्दैन सुत्न सक्दैन । हुदा हुदा दिमागमा पनि मिसिन शरिरमा पनि मिसिन मुटुमा पनि मिसिन धन्न मनमा मिसिन छैन र मान्छे अहिले सम्म मान्छे छ ।
ओहो केके सोच्नु के के बुझ्नु कहिले कहिं मिसिनको घानिमा बस्दा बस्दा आफैंलाई मिसिन जस्तो लाग्छ हेर्छु बिपनमा पनि मिसिन सपनामा नि मिसिन जीवनको प्रथम चरणमा पनि मिसिन अन्तिम चरणमा पनि मिसिन जता सुकै मिसिन जताततै मिसिन जीवनमा मिसिन नै मिसिन ।
मिसिनले मेरो जिन्दगीलाई सुन्दर बनायो बिरह बनायो वसन्त बनायो शिषिर बनायो बनाउने बनायो नबनाउने बनायो असल बनायो खराब बनायो बैलाहा झैं बनायो पागल झैं बनायो स्वार्थी बनायो निस्वार्थी बनायो आफ्नो बनायो पराया बनायो भनेनी बनाउने बनायो नबनाउने बनायो ।
मैले हिजो मात्रै समाचारमा सुने विस्वमा एक अरब चालिस करोड मानिस शारीरिक परिश्रम नगरी बसी रहेका छन ।
एक अरब चालिस करोड मानीसको ठाउँमा मिसीन हावी भएको छ ।
हाय ! मिसिनमय जीन्दगी, सलाम तँलाइ ।
२०१८/९/८
-सुरेन्द्र कार्की
No comments:
Post a Comment