नोट-: चार वर्ष पछि केशवबाट यस कथाकी मुख्य पात्रको अपुष्ट खबर आयो दमक तिर छिन पुष्ट खबर उनको बिहे भैसक्यो । फेरि उनको खोजी तेह्र वर्ष पछि भयो भर्चुअल दुनियाँमा । त्यहाँ पनि उनी गुमनाम रहिन । करिब सत्र वर्षको सुरुतिर अचानक हर्कको फोन आयो मलेसियाबाट । उ संग उनका त कुरा भएनन तर उनका यादहरु ताजा भए ।
सुरुमै सम्झिन चाहन्छु, २०५६ सालमा जनसेवा मावि रमाइलो कक्षा नौ सेक्सन बि का सबै सहपाठीहरुलाई । अहिले जो जो जहाँ जहाँ रहे पनि सबैमा मिठो सम्झना ।
‘लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एक दिनको घाम सयौं दिनको पानी
लौ सुन ....‘
यो कक्षा नौ को कुरा हो अब सुरु हुन्छ पहिलो प्रेमको कहानी ।
पहिलो प्रेमको अन्तय संगै मैले दुइचारवटा गीत कण्ठै पारेको थिएँ । पहिले म गित सुन्थें मात्रै शब्दहरु कहिल्यै याद नहुने। प्रेमको अन्तयले दुइचारवटा गीत कण्ठ बनाउनु पर्ने रहेछ भन्ने चेतको द्वार खुल्यो । जब गोठालो खेतालो घाँस दाउरा वन जंगल जानु पर्थ्यो उनको यादमा बिरक्तिने माध्याम बन्थे गीत । म आफैं राम कृष्ण बन्थें र बिरहमा बग्थें ‘ जिन्दगीले यसरी धोका दियो की, भाग्य आफ्नो चिन्नै सकिन’ ।
एक्लो चिज मलाइ देख्नै नहुने भयो । म जस्तै लाग्थे । गाइ चराउने पाखामा चट्याङ्ले चाटेको एक्लो चिलाउनेको रुख म जस्तै लाग्थ्यो । त्यो एक्लो चिउरीको बोट, एक्लो सिमल, एक्लो बर, जंगलको एक्लो ढेंडु, एक्लो काग, एक्ले ढुकुर,घरको एक्लो परेवा सबै म जस्तै लाग्थे । सबै उजाड उजाड सबै उदास उदास । त्यो बेला बिरहमा नारायण गोपाललाई डाक्थें र म जस्तै ति एक्ला बिम्बहरुलाई डिडेकेट गर्थें ‘ झरेको पात झैं भयो उजाड मेरो जिन्दगी, निभेको दियो झैं भयो उदास मेरो जिन्दगी’ ।
दोहोर्याई तेहेर्याई गाउँथें जब सम्म मन भरिदैन थियो । गाइ सकेपछि खुब आनन्द आउँथ्यो कुनै चित्रकारले चित्र बनाइ सकेको आन्नद झैं । कुनै संगीतकारले गीतको अन्तिम ट्युनिंग् सके पछिको आनन्द झैं । तर यो खुशी धेरै बेर टिक्दैन थियो पानीको फोका झैं प्वाट्ट फुटि जान्थ्यो । सायद मनलाई धेरै बेर खुशी हुने छुट थिएन त्यती बेला । यो बुझाई चाहीँ यति बेलाको हो ।
मलाई थाहा थियो मेरो गाउँको बाटो भएर उनका सुन्दर कोमल पाउहरुले हिंड्ने छैनन् । मलाई थाहा थियो पहाडको भिँडभाँडमा हाटबजारमा उनको प्रेमिल मुहार कतै हुने छैन । जती जती नयाँ मान्छेहरु भट्थें त्यहाँ उनि हुदैन थिइन । सबै कुरा थाहा पाएर पनि मन नथापाए झैं हुन्थ्यो । आँखाहरु जहाँ जहाँ गयो त्यहीँ त्यहीँ उनलाई खोज्दै दगुरी हाल्थे । मन साँच्चै नादान थियो सानो बोली नफुटेको बालक झैं नादान ।
साँच्चै पृष्ठभूमीमा सुरु गरेको गीतको अन्तराझैं
‘म उठ्दा आकाशले मलाई थिचीदिन्छ
अघि बढ्दा धर्ति मलाई खाल्डो खन्छ
म रोएँ यि आँशु रित्याउँ भनेर
तर आँशुले नै मलाई नै बगाउँछ ।’ ओहो यो गीत मेरै लागी तयार भए जस्तो । मरेर गए पनि म दुख्दा मेरो मनमा मलहम लगाउन संगै आए श्रद्वेय गोपाल योञ्जन र नारायण गोपाल । यो गीत गीत मात्रै थिएन सुन्दर कविता पनि हो । म यिनै गीत सुन्दा सुन्दै कविता मन पराउने भइ सकेछु । उनको अप्राप्तीले मलाई कविताको प्रेमी बनायो ।
कस्तो पिडा ? कस्तो छटपटी ? साँच्चै आकाशै ओर्लिएर थिचे झैँ हुन्थ्यो धर्तिनै फाटेर भासिए झैं हुन्थ्यो तर पनि उनलाई भूल्नै नसकिने । फत्तेमानले गाए झैं ‘ मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न ।’ दुरुस्तै यस्तै हुन्थ्यो । एकान्तमा उनकै यादहरुले एकछत्र राज गर्थे । भिंडभाँडमा नजर उनैका यादले खिच्थे । मनमा चयन थिएन बेचैनको मात्रा छिप्पिदै गएको औँशीको रात जस्तो थियो ।
मनले उनका यादलाई डेढ वर्ष बोकेर हिंडे्यो जसरी स्वास्थानी भरि सतीको मृत शरिर महादेवले बोकेर हिंडेका थिए । महादेव साँच्चै एक महान प्रेमी थिए । मलाई प्रेमीहरु औधी मन पर्छ महादेव औधी मन पर्छ ।
अब प्रेमका कथा सुरु हुन्छ कक्षा नौ बाट ।
कक्षा नौ मेरो नौलो कक्षा । उसो त कक्षा नौ मात्रै नौलो हैन स्कुलनै नौलो, ठाँउनै नौलो गाउँनै नौलो अवस्था नौलो परिवेष नौलो र भूगोलै नौलो । म पहाडको ठिटो मधेसको माटोमा पढ्न झरेको । म नियमित भन्दा हप्ता दिन पछि बाट स्कुलमा भर्ना भएर कक्षा पसेको । कक्षा पस्नु अघि बा को अर्ति कानमा गुन्जियो । हुन त यो अर्ति बाटोमा यात्रा गर्दाको लागि हो तर जिवनकै यात्रामा लागू भइ रहेछ । “ बाटोमा नयाँ मान्छे संग नबोल्नु । नौलो मान्छेले दिएको केही नखानु । र स्कुलमा पनि कसै संग झगडा नगर्नु, झगडा गर्न आए पनि तैंले झगडा नगर्नु ।” मलाई यो बाको अर्ति हैन मन्त्र लाग्यो । त्यो बेला नयाँ मान्छेहरु संग बोल्ने बेला थिएन । नयाँ मान्छेहरु माओबादी हुन सक्थे उनिहरुको साथमा बम र बन्दुकहरु हुन सक्थे । उनिहरु संग बोल्दा भाका नपुगे मान्छेले स्वर्गको टिकट काट्थ्यो । मलाई कलिलो उमेरमै टिकट काट्ने हतार थिएन ।
कक्षामा सबै अनुहार नयाँ । सबै नयाँ अनुहारमा फेरि अर्को नयाँ अनुहार थपियो मेरो । क्लास फोबिया हाबि भयो । मलाई अन्तिम बेन्चले स्वागत गर्यो । म सुरुकै दिन अन्तिम बेन्चर । त्यसैले यो कथा पनि अन्त्यबाटै सुरु भयो ।
कक्षामा बिस्तारै मेरो नामले अर्कै आकार लिदै गयो । सुरेन्द्रबाट सोझो सुरेन्द्र । बा को मन्त्रले मजैले काम गर्यो । कक्षामा म प्राय कोही संग नबोल्ने । जस्ले जे सोध्यो त्यसैको उत्तर दिने । त्यती बेला त्यो माहोललाई सम्बोधन गरेर बोल्न शब्दहरु म संग कम थे ।
कक्षामा सबै भन्दा सानो पर्शुराम । सबै भन्दा सोझो म । मैले सोझो पनको सामना जती खेपे पर्शुले सानो हुनुको उतिनै । विकास राई कक्षाकै हिरो । विकास राई कक्षाकै भिलेन । विकास राई सबै भन्दा नयाँ साइकल लिएर आउँथ्यो स्कूलमा । साइकल लिएर आउने मान्छे सबैको नजरमा अटाउँथ्यो । त्यस माथी विकास राई नयाँ साइकलमा । उस्तै परे कहिले काहिँ भटभटेमै आउँथ्यो । विकास राईले भट्भटे पनि चलाउँथ्यो । ऊ स्कूलकै सिंगल पिस हो भट्भटेमा आउने ।
विकास राई म संग राम्रो संग कहिल्यै बोलेन भन्दा पनि हुन्छ । विकास राई के खाएर आउँथ्यो कोनी सधैं रिसाइ रहे जस्तो । विकास राईको हर्मोन कस्तो थियो कोनी केटाहरु संग कहिल्यै राम्रो संग नबोल्ने । विकास राई त्यो बेला टिभिका कुरा गर्थ्यो फिलिमका कुरा गर्थ्यो पैसाका कुरा गर्थ्यो लाहुरका कुरा गर्थ्यो मान्छे कुट्ने कुरा गर्थ्यो केटी घुमाउने कुरा गर्थ्यो । विकास राई थियो र कक्षामा कहानी चल्थ्यो उस्का अघि पछि केटाहरु हिंड्थे कक्षामा हल्ला हुन्थ्यो । विकास राई एक्लो बिध्यर्थी जो शंकर सर बाहेक अरु सरहरु संग नडराउने आँट पाल्थ्यो ।
विकास राईले खुब सतायो मलाई कुकुरले बिरालेलाई सताए झैं । क्यूंबे साले किन हाँस्छेस् बे ,क्यूंबे साले किन हेर्छेस बे , क्यूंबे साले किन बोल्दैनस् बे, क्यूंबे साले किन सिकाउदैनेस् बे । उस्ले एकदिन साबिक भन्दा ज्यादै मेरो बिल्ला गर्यो । बिल्ला यो शब्द मैले पहाडबाट बोकेर ल्याएको शब्द थिएन । यो शब्द तराइकै माटोमा पहिलो पटक सुनेको हो । पहाडमा हामी यो शब्दको ठाँउमा ‘ खिसी’ प्रयोग गर्थ्यौं । खुब बिल्ला गरे पछि हो कक्षाका केटीहरु आदीसरो विकासको बिरुद्धमा उभिएका । पहिलो आवाज उनको थियो । पहिलो ढाडस म माथी उनको थियो । उनि प्राय हाँसी रहने सबै संग बोली रहने तर म संग बाहेक । म संग बोल्न शब्दहरु कम थिए । उनको ढाडसले मनमा न्यानो मिल्यो । मैले त्यती बेला आमालाई बिर्सें । भोली पल्ट पनि विकासलाई उनैले कराइन अरुले पनि उनि संग आवाज मिलाए । सोझो छ भनेर नहेप । तिमी पनि सहेर नबस सुरेन्द्र जवाफ देउ यस्लाई । तर म बोलिन बोल्नु अघि बा को मन्त्र मुखमा ताल्चा बनेर उभिन्थ्यो ।
बिस्तारै मेरो ध्यान उनले खिचिन । चुम्बकले फलाम खिचे झैं । मेरा नजरहरुले उनलाई खोज्न थाले । मेरा नजरको अन्तिम बिन्दु उनि हुन थालिन । उनलाई नदेखेदा मन उकुसमुकुस हुन थाल्यो । उनलाई चोरी चोरी हेर्ने नजरको बानी बसि सकेछ । उनि कुनै दिन स्कुल नआउँदा मलाई नुन बिनाको तरकारी जस्तो हुन थालेछ । उनि हाँस्दा सगर उज्यालो उनि नहाँस्दा सगर अँध्यारो । मलाई यो के भइ रहेछ उनि छेउ हुँदा मनमा न्यानो महशुस हुने । सबै थोक पुगे जस्तो तृप्ती हुने । उनि नहुँदा नजर अडिने ठाउँनै नहुने ।
शुक्रबारको रात गाउँ भरिका सबै जवानहरु गाउँको एक्लो टिभिका अगाडी भेला हुन्थे । शुक्रबार राती फिलिम आउँथ्यो । एक रात म पनि भेलामा सामेल भए । त्यो जमना टिभिमा फिलिम हेर्दा पनि पाँच पाँच रुपयाँ उठाएर हेर्ने जमना थियो । गाडीका ब्याट्रीबाट करेन्ट सप्लाई हुन्थ्यो । ब्याट्रि कानेपोखरीमा लगेर चार्ज गर्नु पर्थ्यो ।
फिलिमको नाम बिर्से हिरोइन बिर्से र कहानी पनि बिर्सें तर हिरोहरु राजेस हमाल र श्रीकृष्ण थिए । फिलिमको हिरो श्रीकृष्णलाई पनि मलाई जस्तै भएको थाहा पाएँ । उनलाई साथीहरुले उक्साए लबलेटर दिइ हाल नभए अरुले उच्छिनलान् । मैले आफुलाई हिरोको ठाउँमा राखें । तर म यो कुरा साथीहरुलाई भन्न सकि रहेको थिइन । तर हिरोको साथीहरुको कुरोले घोच्यो मनलाई । कक्षामा विकासको दवदबा थियो । श्यामे र हर्के त्यही लाइनमा भएको कुरो मैले छनक पाइ सकेको थिँए । मलाई फिलिमले झस्कायो । यहाँ त बा को मन्त्रपनि जप्नु नपर्ने । अरुले पर्पोज हानि सकेका थिएनन । मन धुरमुरमा पर्यो ।शुक्रबारको रात त्यो डाइलगले सुत्न दिएन ।
एउटा सिंगो सनिबार आधा पानो लभलेटर लेख्नमा बित्यो । कक्षा नौ सम्म पढ्दा सिकेका सबै भन्दा सुन्दर शब्दहरू आधा पानो लभलेटरमा उत्रिए । पहिलो पटक त्यो पनि आधा पानो लभलेटर लेख्न तेन्जिंग् नोर्गेलाई सगरमाथा चढ्नु भन्दा पनि गाह्रो भयो मलाई ।
लभ लेटर त लेख्न भन्दा ज्यादा दिन मुस्कील भयो । आइतबार त्यो लेटरले उल्कै गर्यो । कहिले सर्टको खल्तिबाट पाइन्टको खल्ति तिर ओरालो दगुर्छ कहिले पाइन्टको खल्तीबाट सर्टको खल्तीतिर उकालो तन्किन्छ । लभलेटर हैन मैले लाभानै खल्तिमा राखे जस्तो पोल्छ भत्भति । कक्षामा मेरो घनिष्ठ कोही छैन जस्लाई यो जलन बाँड्न सकूँ ।
टिफिन टाइम हैन चटपटे टाइम सुरु भयो । सबै कक्षाबाट बाहिर निस्किए म कक्षामै बसि रहें । वरिपरी सबै वातवरण न्यालें सायद प्रोफेसनल चोरहरुले चोरी गर्नु पूर्ब वातवरणको अवलोकन यसरीनै गर्दा हुन् । आखिर म पनि त चोरीनै गर्न लागी रहेको थिएँ कसैको दिल । त्यो बेला कसैले देख्नु खतरानक कुरा थियो । ति सबै खतराहरु तर्दै मेरो खल्त्को लाभाले उनको बिज्ञान किताबलाई आफ्नो ठेगना बनायो । बिज्ञान जो तेस्रो घण्टीमै पढाई सकेर सुतेको किताब थियो र त्यसको निन्द्रा घरमा पुगेर मात्रै बिथोलिनु पर्थ्यो ।
किताब उठ्ने पो हो की ? उस्को निन्द्रामा कोही बाधा पो बन्ने हुन की ? सातौ घण्टी सम्म लुकीचोरी नजरले बडो रखवाली गरे । सातौ घण्टी सकियो । धड्कनको गति मन्द भयो । प्रेमपत्रले भत्भति पोलेको त्यो पहिलो आइतबार सकियो । अब खुल्दुलीले सोमबार ताक्यो ।
मैले त्यो पत्रमा कुनै सम्बोधन गरिन । सम्बोधन गरिनु पर्ने कुनै सम्बन्ध थिएन । सम्बन्धको द्वारको रुपमा त्यो पत्र उनि सम्म जाँदै गर्दा त्यो पत्र पत्र मात्रै थिएन प्रश्न पत्र पनि थियो । मेरो दिलको ठेगनामा उनको दिल आइ पुग्छ पुग्दैन त्यो सोमबारले अवस्य बताउला । आइतबार प्रश्न पत्रको दिन सोमबार दिलको ठेगना प्रमाणित हुने दिन ।
सोमबारले सोचे भन्दा फरक उत्तर बोकेर आयो । किताब बाटैमा ब्यूँझिएछ । म कक्षामा पुग्दा कमलामा बिबिस नेपाली सेवाका सुमन खरेल अबतरित भइ सकेछन । पुरै कक्षाले बिबिस रेडीयो सुनि सकेछ पछि मेरो हालतलाई पखला त चल्नेनै भयो । विकास राईले भनि हाल्यो क्यूंबे साले सोझो भनेको त हरामी पो निस्कीस त ? बोल्दै नबोली सिधै लभ लेटर ? ऊ बोल्दै पिच्छे कक्षामा अट्टाहस पोखिन्थ्यो । उस्ले बिल्ला हान्न छोड्दै छोडेन । मेरो अनुहारले स्थाइ चमक भूलेर बेसर्मीको बर्को ओढ्यो । त्यो दिन मेरा नजरले भुँइ मात्रै छामी रहे ।
सम्बोधन बिहीन पहिलो प्रेम पत्रले कक्षामा हंगमा मच्चायो । उनलाई मन पराउने केटाहरुमा तरंग पैदा गरायो । विकास हर्के र श्यामेका आँखाहरुले आगोको भाषा बोली रहे । मलाई थाहा छ गोमा सुनिता मेनुका र गंगाका आँखाहरुले पनि केही ब्यंग्यात्मक र टर्रो सन्देश प्रवाहा गरिरहेका थिए । तर त्यो बेला जताततै ऐश्वर्य रायको जमना थियो । कर्ली कपाल निला आँखा र सुन्दर ओठ वाली ऐश्वर्य वाली जमनामा मलाई उनका काला आँखा उस्तै सुन्दर ओठ मसिना रबरले कसेको लामो कपालवाली उनीनै ऐश्वर्य राय लाग्थ्यो । तर उनै काला आँखावाली पहिलो प्रेम प्राप्त गर्नेवाली प्रेमिकाले कक्षामा कुनै प्रति क्रिया दइनन । न त उनको जवाफमा कुनै पत्र नै आयो । उनलाई देख्दा लाग्थ्यो कक्षामा बहेको हावाले छोएकै छैन ।
मनको माहोल पुरै उकुसमुकुस भयो । यो भन्दा पहिले मनले यस्तो धक्का महशुस गरेकै थिएन । मन दुर्घटनामा पर्यो मन बिरामी भयो । बिरामी मन बोकेर म त्यो दुर्घटना स्थलमा जान सकिन । कक्षाको अपच माहोल र पहिलो प्रेम पत्रको दुर्घटनामा मनले शोक मनाउने घोषणा गर्यो । मैले दुई दिन स्कूल हापें ।
मेरो मनको तार चुटेर बहेको बेसुरा भावको साँक्षी चिसाङ खोला बन्यो । मैले आफूलाई चिसाङमा पोखें । चिसाङले मेरो मनको दुर्गति केही त आँफैमा समाहित गरेर बग्यो । मन चिसाङ भयो चिसाङ मन भयो । चिसाङले मलाई चिसाङ जस्तै बनायो । चिसाङ बर्खा यामका महिना भरि वोल्लो किनार बाट पल्लो किनार नाघ्दै नाघ्दै बग्छ । चिसाङको त्यो उर्लिएको रुप देख्दा ठूलो भनिएको सप्तकोशी साह्रै फिका लाग्छ । आसाम गुहाटी तिरबाट आउनेहरुले सुनाएका ब्रम्हापुत्र नदि के चिसाङ जत्रो होला र ? भूगोल किताबमा सबै भन्दा ठूलो नाम बोकेर बहने अमेजन नदि पनि चिसाङ जत्रो देखिन मैले । तर अहिले चिसाङ खुम्चिएको छ खुम्चिएको मात्रै नभनौ उस्तै परे बगर तिर चरिरहेका गाइ भैंसीले एकै पल्ट पानी पिए भने चिसाङनै सुकाइदिन्छन । अहिले चिसाङको छातीमा कमिलाका जन्ती र भोज भत्तेर छन । यो मन चिसाङ भयो कहिले छेउकुना नाघ्दै नाघ्दै बग्ने कहिले बग्नै अल्छी मानेर बग्ने । चिसाङले दुई दिनमा मलाई तन्किन सिकायो फैलिन सिकायो खुम्चिन सिकायो शान्त हुन सिकायो धैर्य गर्न सिकायो त्यस् पछि त छैंदै छ चिसाङको दिन फिरे पछि चिसाङले कसरी बग्नु पर्छ के के बगाउनु पर्छ । मनका सबै दोष चिसाङले लग्यो म चिसाङ बोकेर फर्किएँ ।
तेस्रो दिन स्कुल पुगे पछि सबैका कौतुहल र उपहास पूर्ण नजरहरुले पून: डामे । विकास हर्के र श्यामे एकै खेमामा उभिए मलाई अर्को खेमामा उनिहरुले नै राखे । दुइ दिन स्कूल नगएकाले पून उनिहरुले मेरो खल्ती चेक गरे तल माथी सबै । कतै फेरी लेटर पो छ की भनेर । तर लेटर त थियो त्यो प्रधानाध्यापकलाई सम्बोधन गरिएको । त्यो स्कूलमा स्कूल नजाँदा लेटर लेख्नु पर्ने चलन रहेनछ । फेरी अर्को उपहास भोगें । विकास हर्के र श्यामेले तानातान गरेर मेरो सर्टको खल्ति च्यादिदीए । कता कता मन च्यातियो मेरो मनमा चिसाङ उर्लिन आँटेको थियो बा को मन्त्र भुलि सकेको थिँए केशवले मलाइ रोक्यो । उस्ले आफ्नै दाई हर्कलाई करायो । केशव संगै सविन पनि मिसीयो । दाई का बिरुद्धमा भाई, जहदाका बिरुद्धमा जहदै देखियो । त्यस पछि सिधा सोझा र जेहन्दरको एउटा खेमा बदमास कंपनिहरुको अर्को खेमामा बाँडियो कक्षा ।
केशव सोझो तर चलाख मान्छे हो । ऊ उमेर भन्दा अगाडिनै परिपक्व लाग्थ्यो फेमिलियर थियो फ्रेन्ड्ली थियो । ऊ बिस्तारै मेरो घनिष्ठ बन्यो । अहिले पनि साथीहरुलाई सम्झिनु पर्दा पहिलो याद उसैको आउँछ । यदि कुनै दिन साथीहरुका नाममा मेरो कलम उठ्यो भने केशवको नाम पहिले लेख्ने छ । प्रिय केशव तिमीलाई यहीं बाट मिठो सम्झना ।
भोलि पल्ट सातौँ घन्टि सकिएर कक्षा बाट निस्किदै गर्दा उनि संग आँखा ठोकिए उनका आँखाले मलाई पर्खि रहेका रहेछन । उनले इसरा गरिन किताब पल्टाएर हेर्न । मैले बाहिर निस्किएर किताब हेरें । सामाजीक किताबमा उनले लेखेको चिठ्ठी भेटियो । मन सिमलको भुवा भयो । बाटोमै मैले चिठ्ठी पढें त्यस्को केही अंस अझै याद छ ।
सम्बोधन नै यस्तो
“कक्षाकै सबै भन्दा सोझोमान्छे
तिमिले यसरी लभलेटर दिन्छौ भनेर मैले सोचेकै थिएन । तिमीले दिएको लेटर मैले पढ्नु भन्दा पहिले कमलाहरुले पढे ।
खासमा, सोझोमान्छे तिमीले मलाई कुनै सम्बोधन गर्नु पर्दैन। म अहिले यो माया प्रेम भन्नेकुरा केही गर्न चाहन्न । तिमी सोझो भएर तिम्रो सपोर्टमा बोलेकी हुँ त्यस्लाई तिमीले अन्यथा नसम्झ । मलाई माफ गर, तिमीले गोप्य राख भनेको कुरा मैले राख्न सकिन र तिमीलाई त्यस्तो बिल्ला गर्छन होला भनेर सोचेकै थिएन । तिमी यति धेरै सोझो कसरी भयौ ? तिमीलाई बिल्ला गर्दा मलाई रिस उठ्छ तर किन थाहा छैन ।तर म तिमी त्स्लाई प्रेम नसम्झ र अब त्यसरी चिठ्ठी नलेख मलाई । यो कुरा तिमीले पनि गोप्यनै राख्ने छौ भन्ने आशा छ ।”
चिठ्ठी पढे पछि मन सिमलको भुवा हैन आगोको धुवाँ भयो । आँखा पिरा पिरा पार्ने मन पिरो पिरो पार्ने । मनले फेरी चिसाङ सम्झियो र चिसाङ बाँच्यो ।
कक्षामा विस्तारै सबै संग हल्का हल्का गफ हुन थाल्यो । गफ भन्दा पनि मेरा जवाफहरु हुन्थे अरुका प्रश्न । उनि संग चाहीं सायद म संग गर्न कुनै प्रश्नहरु थिएनन र मैले उनलाई जवाफ दिनु परेन । बिस्तारै उनको र हर्कको कुरो ले कक्षामा अलि उचाई लियो । मनले यि कुराहरु सुन्न इन्कार गरे झैं गर्यो तर कानको काम कानले गरि रहन्थ्यो ।
करिब तिन महिना पछि उनको लेटर पुरानै सुत्र पछ्याएर म सम्म आइ पुग्यो । मैले बिचार गरेको थिँए उनका नजरको शान्ती खल्बलिएको छ । मैले बाटोमा चिठ्ठी पढें । उनको गुनासो थियो सबै संग बोल्छौ म संग किन बोल्दैनौ । मैले जवाफ लेखिन किनकी उनले चिठ्ठी नलेख भनेकी छन । तर। उनका अक्षरहरु उनि जस्तै राम्रा उनी काला आँखाावाली संगसगै सुन्दर अक्षरवाली पनि हुन । फेरी केही दिन पछि उनको चिठ्ठी आयो मेरो जवाफ दिएनौ के रिसाएका हौ म संग । मैले जवाफ दिएँ तिमीलाई प्रेन गरिरहने रोग लागेको छ । एक दिन तिमीले बुझ्ने समय पनि आउला । म रिसाएको हैन तिमीले चिठी नलेख भनेकोले मैले नलेखेको हूँ । उनले चौथो चिठ्ठीमा उही सम्वोधन दोहोर्याइन “सोझो मान्छे। तिमी वास्तवमै सोझो छौ । थाहा छैन चिठ्ठी किन लेखिरहेकी छु तर तिमीसंग चिठ्ठीमै सहि गफ गर्न पाउँदा आनन्द लागी रहेछ । तर त्यो समय तिमी कुरेर नबस । “
कक्षा नौ का अन्तिम संवादहरु बोकेर उनको पाँचौ चिठ्ठी आयो । उनले त्यो चिठ्ठी मेरो हातैमा दिइन । चिठीले निदाइ सकेका रक्त कोषिकाहरुमा प्राण भरिदीयो । मनमा चिसाङ उर्लियो । सम्झें चिसाङको धैर्यता, सम्झें चिसाङको फैलावट यो चिसाङ फर्किएको समय हो ।
सम्बोधन पनि मिठो थियो कम्तिमा सम्बोधनको द्वार खुलेको थियो
प्रिय सोझो साथी
तिमी मलाई साथी भन्न सक्छौ हामी साथीको दायरामा रहन सक्छौँ । सक्छौ भने एसएल्सी सम्म पर्ख म जवाफ अवश्य दिने छु ।
चिठ्ठीको अन्तिममा लेखिएको थियो पढि सके पछी च्यातेर फालिदीनु । अहिले सम्झिदा लाग्छ म सोझो नै हूँ । उनको चिठ्ठी च्यातेर खोलामा नबगाएको भए हुन्थ्यो ।
सानामै पढेको किसानको रहर कविता उनि संग प्रेममा परे पछि औधी प्रेमील लाग्यो । त्यो कविताको चरित्रमा एका तिर आफू बसेँ अर्को तिर उनलाई राखें ।
“ काँधको शोभा हलो र जुवा हातमा कोदाली
जिवन धन्नु गर्नुनै पर्ने उकाली ओराली “
यति बेला लाग्छ किसानको छोराले किसानकै सपना देख्दो रहेछ । म खेत जोत्न थालें कल्पनामा । उनि कल्पनामै पटुकी कसेर डोकोमा खाजा र खाना लिएर आउथिन । म कल्पनामै खिर्रोको रुख मुनी बस्थें कल्पनामै गोरूले घाँस खान्थे कल्पनामै उनि खाना भाग लगाउथिन कल्पनामै पटुकीको छेउबाट पोको पारेको फिलुङ्गेको अचार निकाल्थिन । कल्पनामै उनि ढोंडले काटेको मेरो औँला पटुकीको छेउ ध्वार्र च्यातेर बाँद्थिन । कल्पनामा उनि संग हराउँदै मिठो भयो म धेरै पटक यसरी हराइ रहें ।
एक दिन साँच्चै एसएल्सी सकियो । उनले भेट्छु भनेकी थिइन । उनले जवाफ दिन्छु भनेकी थिइन । उनि घर हिंड्ने बाटो सम्म नजरहरुले बोकेर मलाई लगे तर उनि नदेखेझैं गरि बाटोमा बिलाउदै बिलाउदै गइन एकै पटक फर्केर हेरिनन । मन हतास भयो उदास भयो । केही दिन पछि सम्झें ‘जवाफ अवश्य दिनेछु’ । सायद उनले नबोलेरै जवाफ दिइन सायद उनले नभेटेरै जवाफ दिइन । फेरि मनमा चिसाङ खुम्चियो । फेरि मनमा चिसाङ सेलायो । फेरि चिसाङमा कमिलाको भोज भत्तेर चल्न थाल्यो । मैले उनका शब्दहरु च्यातेर नबगाउनु पर्थ्यो त्यो बग्दै बग्दै उधैँ उधैँ गएको नहेर्नु पर्थ्यो । म उकालो बग्न चाहन्थें उनको जवाफ ओरालो बग्यो ।
पछि एसएल्सिको नतिजाले म भासिएँ प्रेमको नतिजाले जीवन भासियो । दुवै नतिजाले मनमा मरूभूमि उब्जायो । किशोर बयका ति कलकलाउदा दिनहरुमा सिंगै क्षितिज ज्वालामूखी बनेर उभियो । सबै सुन्दर सपनाहरु डढाएर सोत्तर बनायो । एक्ला चिजहरु देखेर बैराग लाग्थ्यो । सबै चिज उदास सबै चिज निरस । नजरले हरियो कतै देखेन नजरले उज्यालो कतै भेटेन ।
तर मैले कम्पाड पाएँ । एसएल्सी कम्पाड बाट पास भए पनि उनि संगको प्रेममा कम्पाड दिन पाइएन । मैले त्यो उनको सहर सधैंको लागी छोडेर हिंडे । हो त्यती बेलै हो सबै भन्दा पहिले कण्ठ हुन आएको गीत “ म तिम्रो सहर छोडी टाढा टाढा जाँदै छु तिमी संग कहिल्यै नभेटिने कसम खाँदै छु “ - सुरेन्द्र कार्की
२०१८/१२/५